गृहपृष्ठ सुरु भयो मिथिलामा झुलनोत्सव

सुरु भयो मिथिलामा झुलनोत्सव

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी ।

‘सखी हे, झुला पडल पूलबगियाक डार,
सीतासँग झुलथी रघुबर, मन हरषित अपार १’

मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन थालेका छन् । साउन शुक्ल तृतीया तिथिसँगै शनिबार झुलनोत्सव पर्व सुरु भएसँगै मिथिलामा झुलागीत गुञ्जन थालेका हुन् ।

हिन्दू परम्पराका आराध्यदेव श्री विष्णु र भगवती लक्ष्मीको पुकारा गरिने यस पर्वमा यी देवदेवीका अवतार मानिने रामसीता र राधाकृष्णका प्रतिमा कलात्मक झुलना ९एक प्रकारको कोक्रा०मा राखेर भक्तिगीतको लयमा झुलाउने ९हल्लाउने० गरिन्छ । साउन पूर्णिमाका दिन समापन गरिने यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव रहँदै आएको छ ।

शनिबार पर्व सुरु भएसँगै मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको रौनक छाएको छ । पर्वले महोत्तरीका रामजानकी, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर र वैैष्णव मठहरूमा झुला महोत्सवमा साधुसन्तसहित सर्र्वसाधारण झुमेका देखिँदा छन् । मैथिल हिन्दू परम्परामा यो पर्व भक्ति, समर्पण र सांस्कृतिक मनोरञ्जनका लागिसमेत विशिष्ट रहँदै आएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउछन् ।

“यो बालरुप भगवान् र भगवतीलाई झुलनामा झुलाइने पर्व हो, श्रीरामकी माता कौशल्या र श्रीकृष्णकी माता यशोदाले कोक्रामा हल्लाउनुभएको प्रतिकात्मक सम्झना यस पर्वमा गरिन्छ”, डा वैष्णवले भन्नुभयो । विष्णुलक्ष्मी भक्तिको यो पर्व घरघरै नभएर मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने रामसीता र कृष्णराधाका प्रतिमालाई विशेष झुलामा राखेर गीत गाउँदै हल्लाउनु पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाएर भक्तिभाव जाहेर गर्छन् ।

पर्वका अवसरमा शनिबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बजागाजासाथ झुलाघर पुर्याएर पर्व सुरु गरिएको छ । यो पर्वमा आमसर्वसाधारण आफ्नो बस्ती नजिकको मठ वा मन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउँदै नाच्दै भक्तिमा नाच्छन् ।

झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ । झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र मन्दिर एवं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ । यसैगरी महोत्तरीको जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीमा झुलामहोत्सव मनाइन्छ ।

मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रसन्न गराउनुपर्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउन विसं १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गराएको मानिन्छ ।

जनकपुरमा अघि रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिनुभएको हिरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।

महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्मित छ । जहाँ लक्ष्मीनारायण मठ र मन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा झुलाइन्छ । मटिहानीमा अहिले जिल्लाका र सीमावर्ती भारतका दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइएका छन् । पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन् ।

साउन पूर्णिमाका दिन विष्णुलक्ष्मीका प्रतिमा झुलाइने झुलनाको डोरी चुडालेर पर्व समापन गरिने मैथिल परम्परा छ । मिथिलामा प्रचलनमा रहेका पञ्चाङ्ग विद्यापति र मिथिला हुन् । यी दुवै पञ्चाङ्गमा चन्द्रमासको साउनदेखि वर्ष प्रारम्भ हुन्छ । यसअनुसार साउनमै मनाइने मधुश्रावणी, झुला, लगपाँच (नागपञ्चमी) र रक्षावन्धनसँगै वर्षभरिका चाडवाडको सिलसिला सुरु भएको सूचनाका रुपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउछन् ।

 

प्रकाशित समय : ०५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु