गृहपृष्ठ रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले अघि बढाएको ‘मोडल भिलेज’लाई सार्थक बनाउन नेपाल धितो पत्र बोर्ड (सेबोन) समक्ष विभिन्न मागहरु प्रस्ताव गरेको छ ।

अभिभावकविहीन बालबालिका, अपाङ्गता भएका व्याक्ति र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आइपीओमा पाँच प्रतिशत सेयर आरक्षणको माग गर्दै पुँजी बजार शिक्षाको ‘मोडल भिलेज’ बनाउने प्रस्ताव अघि सारेको हो ।

सेबोन समक्ष लक्षित वर्गका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा पाँच प्रतिशत आरक्षणका सेयरको व्यवस्था गर्न माग गर्दै शुक्रबार सेबोन अध्यक्ष डा.गोपाल प्रसाद भट्टलाई गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले ज्ञापन पत्र समेत बुझाए ।

‘यो माग केवल नीतिगत प्रस्तावमा सीमित छैन’ स्याङ्बोले भने,‘स्थानीय तहमा विद्यार्थी तथा विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम सञ्चालन, बैङ्क खाता तथा डिम्याट खाता खोल्न सहजीकरण, वित्तीय तथा पुँजी बजार साक्षरता विस्तारका काम अघि बढाइएको छ ।’

अपाङ्गता भएका व्यक्तिलाई पनि पुँजी बजारमा जोड्ने उद्देश्यले बैङ्क तथा डिम्याट खाता खोल्न सहजीकरण गरिएको र वित्तीय रूपमा सक्षम बनाउने साथै भविष्यमा लगानी तथा आर्थिक आत्मनिर्भरताको आधार तयार गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।

ज्ञापन पत्र बुझ्दै सेबोन अध्यक्ष डा.भट्टले स्थानीय सरकारको स्तरबाट नीतिगत सुझाव र सोचप्रति खुशी व्यक्त गर्दै लक्षित बर्गलाई सम्बोधन गर्नेगरी निर्णय गर्ने प्रतिबद्धता जनाए ।

पालिकाले सेबोनलाई बुझाएको ज्ञापन पत्रमा स्थानीय तहले नागरिकको आर्थिक अवस्था, आवश्यकता र व्यवहारलाई नजिकबाट बुझ्ने भएकाले पुँजी बजारसम्बन्धी नीति निर्माणमा स्थानीय तहको अनुभवलाई समेत समेट्नुपर्ने धारणा राखेको छ ।

विशेषगरी विद्यालय तहदेखि नै बचत, वित्तीय साक्षरता र सुरक्षित लगानीको ज्ञान विकास गर्ने तथा आर्थिक रूपमा कमजोर वर्गलाई पुँजी निर्माणको प्रक्रियामा जोड्ने गाउँपालिकाको अवधारणालाई दीर्घकालीन रूपमा हेर्नुपर्ने माग छ ।

‘समावेशी पहुँच, वित्तीय साक्षरता, सुरक्षित लगानी र दीर्घकालीन पुँजी निर्माण’लाई साझा प्रतिबद्धता बनाउँदै रोङ गाउँपालिकाले ग्रामीण क्षेत्रमा पुँजी बजारको पहुँच विस्तार हुने उल्लेख छ ।

सानो रकमबाट लगानी गर्न चाहने नागरिकलाई सहज रूपमा पुँजी बजारमा सहभागी गराउने वातावरण बनाउनुपर्ने अध्यक्ष स्याङ्बोको भनाइ छ । त्यस्तै, पालिकाले सेबोनको ‘राष्ट्रिय लगानी शिक्षा अभियान अन्तर्गत आफूलाई पुँजी बजार शिक्षाको नमुना स्थानीय तहका रूपमा विकास गर्न प्रस्ताव गरेको छ ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु