पाल्पा । पाल्पाको तानसेन भन्नेबित्तिकै धेरैको सम्झनामा आउने मौलिक पहिचानमध्ये एक हो–‘पाल्पाली ढाका टोपी’ । आकर्षक बुट्टा, रंगीन डिजाइन र स्थानीय पहिचान बोकेको ढाका टोपी अहिले पाल्पाको चिनारीसँगै पर्यटकको रोजाइको उपहारसमेत बन्न थालेको छ ।

पाल्पाली ढाका टोपीको मूल्य आकार, डिजाइन र गुणस्तरअनुसार फरक पर्ने गर्छ । सामान्यतया एउटा टोपी सात सय रुपैयाँदेखि माथि पर्ने व्यापारीहरू बताउँछन् । ‘चोली राम्रो पाल्पाली ढाकाको’ जस्ता लोकगीतमा समेत पाल्पाली ढाकाको चर्चा हुँदै आएको छ । साथै ढाका कपडाको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।

पाल्पामा ढाका कपडा उत्पादनको इतिहास निकै पुरानो छ । तानसेनमा वि.स.२०१५ सालतिर गणेशमान महर्जनले ढाका कपडा उत्पादन सुरु गरेको इतिहास छ ।

त्यसयता पाल्पाली ढाकाले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । हातले विशेष किसिमले बुन्ने तथा आकर्षक बुट्टा प्रयोग गरिने भएकाले पाल्पाली ढाकाका उत्पादन अन्य स्थानको भन्दा फरक मानिन्छन् ।

ढाका कपडाबाट टोपी, साडी, चोली, गलबन्दीलगायत विभिन्न सामग्री उत्पादन हुँदै आएका छन् । त्यसमध्ये पाल्पाली टोपी नेपालीको मौलिक पहिरन र पहिचानका रूपमा स्थापित छ ।

पाल्पा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले ढाका टोपी, साडी तथा अन्य सामग्री चिनोका रूपमा खरिद गर्ने गरेका छन् ।

तानसेनका ढाका उद्योगमा स्थानीय महिला तथा अन्य बासिन्दा रोजगारीमा जोडिएका छन् । ढाका बुन्ने, कपडा तयार गर्ने र त्यसबाट विभिन्न सामग्री बनाउने कामले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आयआर्जनको माध्यमसमेत बनेको छ ।

पाल्पाली ढाकाका उत्पादन तानसेनमा मात्र सीमित छैनन् । देशका विभिन्न सहरमा यसको बजार विस्तार भएको छ भने विदेशमा समेत पाल्पाली ढाकाका सामग्री पुग्ने गरेका छन् ।