गृहपृष्ठ तमानखोला गाउँपालिकाको उदाहरणीय काम
तमानखोला गाउँपालिकाको उदाहरणीय काम
बागलुङ ।तमानखोला गाउँपालिकाले स्वास्थ्यसम्बन्धी उदाहरणीय काम गरेको छ ।
किसानका गोठमा पुगेर उनीहरुको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरी प्रशंसनीय काम गरेको हो ।
ढोरपाटन सिकार आरक्ष क्षेत्र, गुर्जाका किसानको गोठमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरपछि गोठमा बसोबास गर्ने किसान खुसी भएका छन् ।
किसान शेरबहादुर विकले खेतीपातीको काममा व्यस्त हुँदा स्वास्थ्य संस्था जान कठिन हुने अवस्थामा गोठमै स्वास्थ्य सेवा पाउँदा खुसी लागेको बताए ।
तमानखोला गाउँपालिका–१ का नागरिक हरेक वर्ष घुम्ती बसाइँका क्रममा गुर्जामा गोठ बनाई केही महिना उक्त स्थानमा आलुखेती तथा पशुपालन गर्ने गर्छन् ।
पालिकाबाट टाढा तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्नुपर्ने भएकाले सामान्य स्वास्थ्य समस्या हुँदासमेत तत्काल स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने अवस्थालाई बुझी गत मङ्गलबार गुर्जामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा ८० जना किसानले स्वास्थ्य परीक्षण गराउनुभएको थियो । शिविरमा किसानको प्रेसर, ज्वरोलगायत स्वास्थ्य जाँच गर्नुका साथै आवश्यकताअनुसार निःशुल्क औषधि वितरणका साथै परिवार नियोजनसम्बन्धी सेवा तथा परामर्शसमेत प्रदान गरिएको थियो ।
उच्च पहाडी क्षेत्रमा लामो समयसम्म बस्नुपर्ने भएकाले किसानलाई सामान्य स्वास्थ्य समस्या देखिनसक्ने भन्दै झाडापखाला तथा सामान्य चोटपटक लाग्दा खाने औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।
गुर्जामा बागलुङसँगै म्याग्दीको धौलागिरि गाउँपालिकाका स्थानीयको बसोबास छ । उक्त क्षेत्रमा करिब १५० किसानले घुम्ती बसोबास गर्दै आएका छन् ।
यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत आलुखेती हो । उच्च पहाडी भूभागमा उत्पादन हुने आलुखेतीका लागि किसान वर्षायाममा लामो समय गुर्जामा बस्ने गर्दछन् ।
किसानलाई मोबाइल चार्जिङलगायत समस्या समाधान गर्न गाउँपालिकाले यसअघि गुर्जामा संयुक्त चार्जिङ स्टेशन निर्माण गरेको छ । गाउँपालिकाले गत वर्ष पनि गुर्जामा पुगेर किसानको स्वास्थ्य परीक्षण गरेको थियो ।
प्रकाशित समय : २१:०६ बजे


















