गृहपृष्ठ ‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’
‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’
नारायणगढ । चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसंग जोड्नुपर्नेमा जोड दिएका छन् । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० चितवनद्वारा आयोजित कार्यक्रममा ‘मेरो पुस्ताको राजनीति कस्तो हुनुपर्छ ?’ विषयमा युवाबीच वक्तृत्वकला, ‘कृषि उद्यमशीलता र युवा समृद्ध नेपालको आधार’ विषयमा विचार–विमर्श तथा सांसदसँग युवा संवाद कार्यक्रका सहभागिको सो उद्यमशीलता विनाको राजनीतिले समृद्धि नआउने सुझाव थियो ।
वक्तृत्वकलामा सहभागिता १० युवाले अब भाषणमा सीमित राजनीति नभई परिणाममुखी, प्रविधिमैत्री र उद्यमशील राजनीतिक संस्कार खोजेको धारणा व्यक्त गरे । राजनीति जनताको सेवा गर्ने माध्यम बन्नुपर्ने जनाउँदै उनीहरुले राजनीतिमा युवा सहभागिता मात्रै नभई नीति निर्माण र कार्यान्वयनमा समेत युवाको अर्थपूर्ण भूमिका सुनिश्चित गर्नुपर्ने बताए । प्रविधिमैत्री सेवा, चुस्त प्रशासन, पारदर्शिता र जवाफदेहितालाई अहिलेको आवश्यकता भएको भन्दै राजनीति फोहोरी खेल नभई जनताको माया र विश्वास प्राप्त गर्ने माध्यम बन्नुपर्ने उनीहरुको भनाइ थियो । ‘जेनजी’ पुस्ताले चाहेको परिवर्तन पनि प्रविधि, उद्यमशीलता र अवसरसँग जोडिएको उनीहरुले बताए ।
राजनीतिमा सहभागिता मात्रै खोजेर नपुग्ने भन्दै नीति तथा नियम निर्माणमा समेत आफ्नो भूमिका स्थापित गर्नुपर्ने, राजनीतिमा पारदर्शिता, जवाफदेहिता, समावेशिता र सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने, प्रविधिको पहुँच सबै नागरिकसम्म पु¥याउनुपर्ने, आगामी पुस्तालाई सहयोग पुग्ने नीति बनाउनुपर्ने तथा सरकारलाई पूर्णरुपमा डिजिटल र पारदर्शी बनाउनुपर्ने, शिक्षा जीवनका समस्या समाधान गर्न सक्ने खालको हुनुपर्ने, अनुसन्धानमा लगानी बढाउनुपर्ने तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने युवाहरुको माग थियो ।
रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘रेमिट्यान्स’मा मात्रै निर्भर नभई स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सहभागी युवाहरुले धारणा थियो । दश जना युवा सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा अमृत ढकाल प्रथम, निरिता पौडेल द्धितीय र आयुस्मा श्रेष्ठ तृतीय भएको थियो ।
पत्रकार विवेक पोखरेलले कृषिविज्ञ डा भानेश्वर पोखरेल, भवानी डेरीका सञ्चालक सुवास पौडेल तथा चितवनमा सयपत्रीलगायत फूलको बगैँचाबाट सफल व्यवसाय सञ्चालन गर्दै आएकी सुजाता देवकोटासँग कृषि उद्यमशीलताका विषयमा विचार–विमर्श गरेको थियो ।
कृषिलाई सम्मानित व्यवसायका रुपमा विकास गर्न, आधुनिक प्रविधि, अनुसन्धान र बजार व्यवस्थापनमा लगानी बढाउन तथा युवा र शिक्षित जनशक्तिलाई कृषि उद्यमशीलतामा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।
चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले युवाले काम गर्दै जाँदा भएका त्रुटि सच्याउँदै अघि बढ्नुपर्ने बताए । उनले गल्ती गर्न हुँदैन भन्नेभन्दा पनि गल्तीबाट सिकेर आफ्नो लगनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । काम गर्नेहरुलाई सिर्जनात्मक खबरदारी आवश्यक रहेको जनाउँदै उनले खबरदारी, कार्यसम्पादन र भाषण फरक विषय भएको उल्लेख गरे । राजनीतिक नेतृत्वले भाषणभन्दा काम र नतिजामा ध्यान दिनुपर्ने भनाइ थियो ।
सांसद प्रभा ढकालले स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक छ भने । सांसदहरु नीति तथा नियम निर्माणका काममा केन्द्रित हुने गरेको र आवश्यकताअनुसार सम्बन्धित विषयमा भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो ।
रास्वपा चितवनका जिल्ला सभापति इन्जिनियर मिनिमाधव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रास्वपा केन्द्रीय सदस्य सविना विक, आकाक्षा पोखरेल र पवित्रा थापा, जिल्ला सचिव तेजेन्द्रप्रसाद पौडेल, उपसभापति निर्मला गिरी, जिल्ला सहसचिव कुशल पाठक, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश सदस्य, क्षेत्रीय सभापति, जिल्ला कार्यसमिति तथा पालिका र वडा प्रतिनिधिलगायतको सहभागिता थियो ।
प्रकाशित समय : ०८:५९ बजे


















