गृहपृष्ठ ग्रिनप्लाई नेपालले सर्वसाधारणलाई २० प्रतिशत आईपीओ जारी गर्ने

ग्रिनप्लाई नेपालले सर्वसाधारणलाई २० प्रतिशत आईपीओ जारी गर्ने

ग्रिनप्लाई नेपालले सर्वसाधारणलाई २० प्रतिशत आईपीओ जारी गर्ने

विराटनगर । प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको विशेष साधारण सभाले जारी पुँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा शुक्रबार सम्पन्न विशेष साधारण सभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गरेको हो। आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ।

सभाले संस्थापक सेयरको मूल्य निर्धारणसमेत गरेको छ। संस्थापक सेयरको अंकित मूल्यमा प्रतिकित्ता १२५ रुपैयाँ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्रिनप्लाई नेपालले पछिल्ला वर्षमा आफ्नो वित्तीय अवस्था सुधार गर्दै लगेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको बिक्री अघिल्लो आर्थिक वर्षको तुलनामा १८.९६ प्रतिशतले बढेर करिब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ।

कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको दाबी गरिएको छ। व्यवस्थापन, उत्पादन क्षमता र बजार विस्तारका कारण कम्पनीको वित्तीय अवस्था थप सुदृढ बन्दै गएको कम्पनीको भनाइ छ।

ग्रिनप्लाईले आफ्नो कुल उत्पादनको करिब ३० प्रतिशत नेपालमै बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको जनाएको छ। भारतीय बजारमा उत्पादन निर्यातका लागि कम्पनीले बीआईएस (BIS) प्रमाणीकरणसमेत प्राप्त गरेको छ।

निर्यात प्रवर्द्धनमा योगदान गरेबापत कम्पनीले नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको पूँजीगत संरचनामा पनि सुधार आएको दाबी गरिएको छ। कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ।

त्यसैगरी, यस अवधिमा ६ करोड रुपैयाँ नयाँ सेयर पुँजी थपिएको कम्पनीले जनाएको छ। नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) अनुसार सञ्चित नाफा समायोजनपछि कम्पनीको मूर्त खुद सम्पत्ति करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको छ।

कम्पनीले गुणस्तरीय तथा वातावरणमैत्री प्लाइउड, ब्लकबोर्ड र फ्लस डोर उत्पादन गर्दै आएको जनाएको छ। आधुनिक प्रविधि, गुणस्तर सुनिश्चितता र वितरण सञ्जाललाई विस्तार गर्दै बजार बढाउने रणनीति कम्पनीले अघि सारेको छ।

आवासीय तथा व्यावसायिक भवन निर्माणसँगै पूर्वाधार क्षेत्रमा प्लाइउडको माग बढ्दै गएको भन्दै कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश र अत्याधुनिक प्रविधिमा लगानी गर्ने योजना बनाएको छ।

नेपालमा हुने प्लाइउड आयातलाई प्रतिस्थापन गर्दै आन्तरिक बजारमा आफ्नो हिस्सा बढाउनुका साथै निर्यात विस्तार गर्ने लक्ष्य कम्पनीको छ। दीर्घकालीन रूपमा उत्पादनमूलक उद्योगको अग्रणी ब्रान्ड बन्ने र लगानीकर्ताका लागि मूल्य सिर्जना गर्ने रणनीति लिएको कम्पनीले जनाएको छ।

मोरङको बुढीगंगा गाउँपालिका–५ मा रजिस्टर्ड कार्यालय रहेको ग्रिनप्लाई नेपालका अध्यक्ष उद्योगी जीवनप्रसाद रिजाल हुन्। कम्पनीमा दिवाकर राठी, डगेन्द्रप्रसाद रिजाल, मनीष खेतान, सुनिल अग्रवाल र विवेक अग्रवाललगायतको लगानी रहेको छ।

कम्पनीमा स्टार इन्भेष्टमेन्ट फन्ड लिमिटेड, टप फन्ड लिमिटेड तथा हार्भेस्ट भेन्चर्सको समेत संस्थागत लगानी रहेको कम्पनीले जनाएको छ।

आईपीओ निष्कासनपछि सर्वसाधारणको समेत लगानी भित्र्याउँदै कम्पनीले उत्पादन क्षमता र बजार विस्तारलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु