गृहपृष्ठ दिगो शान्ति, निःशस्त्रीकरण र विकासको आवश्यकतामा जोड
दिगो शान्ति, निःशस्त्रीकरण र विकासको आवश्यकतामा जोड
काठमाडौँ । विश्व शान्ति र आर्थिक समृद्धिका लागि दिगो शान्ति, निःशस्त्रीकरण र विकासको आवश्यकतामा जोड दिइएको छ । ८१औँ हिरोसिमा दिवस र नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका अवसरमा हिरोसिमा युनिभर्सिटी स्कोलर्स एल्मुनाई नेपाल ९हिउसान० र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले विश्वमा भइरहेका भू(राजनीतिक तनाव, युद्ध र आणविक शक्तिराष्ट्रहरू बीचको भिडन्तले मानव सभ्यतालाई पुनः जोखिममा पार्नसक्ने भन्दै चिन्ता व्यक्त गरे।
सन् १९४५ अगष्ट ६ का दिन जापानको हिरोसिमा सहरमा खसालिएको आणविक बमबारीले भएको मानवीय, भौतिक र वातावरणीय क्षतिको स्मरणमा आयोजना गरिएको कार्यक्रममा अहिले पनि विश्व आणविक त्रासदीबाट मुक्त हुन नसकेको भन्दै सहभागीहरूले दिगो शान्ति, निःशस्त्रीकरण र विकासको आवश्यकतामा जोड दिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान ९नाष्ट०का उपकुलपति प्रा डा जनार्दन लामिछानेले हिरोसिमा दिवसले विश्व समुदायलाई युद्ध होइन शान्ति र विनास होइन विकास चाहिन्छ भन्ने सन्देश दिएको बताए ।
काठमाडौँ विश्वविद्यालयका डीन प्रा मनिष पोखरेलले वर्तमान समयमा पनि विश्वयुद्धको त्रासदीपूर्ण अवस्थाबाट विश्वसमुदाय मुक्त हुन नसकेको भन्दै यसले मानव सभ्यतामाथि गम्भीर प्रश्नचिन्ह उत्पन्न गरेको धारणा राखे ।
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीले जापानको हिरोसिमा र नागासाकी सहरमा भएकोजस्ता विनाशकारी कार्यलाई निरुत्साहित गर्दै विश्वजगत शान्ति र समृद्धिमा लाग्नुपर्ने आवश्यकता बढ्दै गएको बताए ।
जाइका इल्मुनाई एशोसिएसन नेपालका अध्यक्ष डा रामचन्द्र भुसालले जापानसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको सात दशकमा पूर्वाधार विकासमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई अझ फराकिलो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
हिउसानका अध्यक्ष डा रञ्जनप्रकाश श्रेष्ठले नेपाल–जापानबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन र विश्व शान्तिको सन्देश दिन हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरिँदै आइएको बताए ।
सो अवसरमा संस्थाका सचिव बबुल खनाल र कोषाध्यक्ष गीता घिमिरे, स्पटलाइट पत्रिकाका सम्पादक केशव पौडेलले आणविक अन्वेषणलाई विनास होइन, विकास र समृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिँदै यो वर्ष ‘विश्व शान्ति, शिक्षा र विकासः दिगो भविष्यका मार्गहरू’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
प्रकाशित समय : १६:४७ बजे


















