गृहपृष्ठ विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
जर्मनीको लाइपजिगरहाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको ‘खतराको नयाँ गुणस्तर’ भएको चुनौतीका रूपमा वर्णन गरेका छन् ।
मङ्गलबार राति विमानस्थल आसपास शङ्कास्पद उड्ने वस्तु देखिएपछि प्रमुख कार्गो केन्द्रका दुवै रनवे तत्काल बन्द गरिएका थिए । त्यसका कारण एउटा यात्रुवाहक विमानसहित केही उडानहरू वैकल्पिक विमानस्थलतर्फ मोडिएका थिए । दक्षिणी रनवे नजिक शङ्कास्पद वस्तु रहेको सूचनापछि विस्फोटक निष्क्रिय पार्ने रोबोट परिचालन गरिएको थियो ।
क्षेत्रीय प्रहरी र सरकारी अभियोजन कार्यालयका अनुसार विमानस्थलका एक कर्मचारीले दक्षिणी रनवे नजिकै अज्ञात विस्फोटक उपकरण बोकेको ड्रोन फेला परेका् थियो । त्यसपछि सुरक्षा निकायले ड्रोन नियन्त्रणमा लिएर त्यसमा जडान गरिएको डेटोनेटर हटाई सुरक्षित रूपमा निष्क्रिय पारेको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन् ।
घटनास्थल पुग्न बिदा नै स्थगित गर्नुभएका गृहमन्त्री डोब्रिन्डले विमानस्थलमा विस्फोटक बोकेको ड्रोन भेटिनु विगतका घटनाभन्दा फरक प्रकृतिको सुरक्षा जोखिम भएको बताए । उनका अनुसार ड्रोनबाट उत्पन्न हुन सक्ने खतरा पहिलेदेखि नै चिनिएको भए पनि विस्फोटकसहित विमानस्थलभित्र प्रवेश गर्नु सुरक्षा चुनौतीको नयाँ स्वरूप हो ।
उनले घटनालाई ‘हाइब्रिड आक्रमणको परिदृश्य’ का रूपमा उल्लेख गरे। तर यसबारे थप विवरण सार्वजनिक नगरिएको र ड्रोनको उत्पत्ति, प्रयोग गरिएको विस्फोटकको प्रकृति तथा सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेकाले अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले स्पष्ट पारे ।
स्याक्सोनी राज्यका गृहमन्त्री आर्मिन सुस्टरले सुरक्षा निकायले सम्भावित दोस्रो ड्रोनका अवशेष वा भागहरू खोजी गरिरहेको जानकारी दिए ।
यसैबीच, रनवे बन्द भएपछि अवतरण गर्न नसकेको एउटा मालवाहक विमान अर्को उड्ने वस्तुसँग ठोक्किएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । उक्त विमानलाई करिब २०० किलोमिटर टाढाको हनोभर विमानस्थलमा अवतरण गराइएको थियो । त्यहाँ निरीक्षणका क्रममा सामान्य क्षति देखिएको अधिकारीहरूले बताएका छन् ।
लाइपजिग÷हाले विमानस्थलको उत्तरी रनवे करिब दुई घण्टापछि पुनः सञ्चालनमा ल्याइएको थियो भने दक्षिणी रनवे पूर्वनिर्धारित मर्मत कार्यका कारण बुधबार पनि बन्द रहने तय गरिएको थियो । घटनाबाट यात्रु वा विमानस्थलका कर्मचारीको सुरक्षामा कुनै प्रत्यक्ष असर नपरेको तथा नियमित उडान सञ्चालनमा उल्लेखनीय अवरोध नआएको अधिकारीहरूले बताएका छन् ।
घटनास्थलबाट सार्वजनिक तस्बिरमा युक्रेनी एन्टोनोभ विमान नजिकै विस्फोटक निष्क्रिय पार्ने रोबोटसहित सुरक्षा प्राविधिक परिचालित भएको देखिएको छ । लाइपजिगरहाले विमानस्थल युरोपकै प्रमुख कार्गो केन्द्रमध्ये एक हो र यहाँ युक्रेनी एन्टोनोभका मालवाहक विमानहरूको नियमित आवागमन हुने गर्दछ ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले घटनाबारे आफूलाई जानकारी प्राप्त भएको जनाएको छ । सङ्गठनले थप विवरणका लागि जर्मन अधिकारीहरूसँग समन्वय गरिरहेको बताएको छ ।
यसअघि सन् २०२४ मा पनि यही विमानस्थलको लजिस्टिक केन्द्रमा आगो लगाउने उपकरण प्रयोग गरिएको घटना भएको थियो । पश्चिमी सुरक्षा अधिकारीहरूले त्यस घटनालाई रूसी गुप्तचर निकायसँग जोडिएको सम्भावित तोडफोड अभियानको हिस्सा हुन सक्ने आशङ्का व्यक्त गरेका थिए । पश्चिमी मुलुकहरूले रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता युरोपभर यस्ता अनेकौँ तोडफोड, आक्रमण तथा सुरक्षा चुनौती सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् ।रासस
प्रकाशित समय : १०:१६ बजे


















