global ime bank Long Banner Ad

गृहपृष्ठ थाइल्यान्ड पुग्दै म्यान्माका राष्ट्रपति

थाइल्यान्ड पुग्दै म्यान्माका राष्ट्रपति

थाइल्यान्ड पुग्दै म्यान्माका राष्ट्रपति

म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ नागरिक नेता बनेपछि पहिलो पटक बिहीबार थाइल्यान्ड भ्रमणमा जाने तयारीमा रहेको छन् । सन् २०२१ को सैन्य ‘कू’ पछि अन्तर्राष्ट्रिय रूपमा अलगावमा परेको म्यान्माले क्षेत्रीय कूटनीतिक सम्बन्ध पुनर्जीवित गर्ने प्रयास गरिरहेका बेला उनको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

पूर्व सैन्य प्रमुख ह्लाइङले सन् २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थिए । त्यसपछि सुरु भएको गृहयुद्धमा सबै पक्षका गरी एक लाखभन्दा बढी मानिसको ज्यान गएको अनुमान छ । यसै वर्ष अप्रिलमा विवादास्पद निर्वाचनपछि उहाँ राष्ट्रपतिमा स्थापित भएको थिए । लोकतन्त्र पक्षधर संस्था र पश्चिमी मुलुकहरूले उक्त निर्वाचनलाई सैन्य शासनलाई वैधता दिने प्रयासको रूपमा आलोचना गरेका छन् ।

थाइल्यान्डले द्विपक्षीय रूपमा तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मार्फत म्यान्मासँग सम्बन्ध सामान्य बनाउन सक्रिय भूमिका खेल्दै आएको छ । यद्यपि आसियानले म्यान्माका शीर्ष नेतृत्वलाई औपचारिक शिखर सम्मेलनमा सहभागी गराएको छैन । गत महिना भने म्यान्माका विदेशमन्त्रीले थाइल्यान्डमा आयोजित अनौपचारिक क्षेत्रीय बैठकमा भाग लिएको थिए ।

राष्ट्रपति बनेपछि ह्लाइङले भारत, चीन र लाओसको भ्रमण गरिसकेका छन् । थाइल्यान्ड भ्रमणअघि नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिसँग भेट्न अनुमति दिइएको थियो । यस भेटलाई उनलाई सत्ताच्युत गरिएपछि विदेशी अधिकारीसँग भएको पहिलो सार्वजनिक भेट मानिएको छ ।

म्यान्माका स्वतन्त्र विश्लेषक डेभिड म्याथिसनका अनुसार ह्लाइङको आसियानमा पुनः सक्रिय उपस्थिति स्थापित गर्ने प्रयास मुख्यतः अन्तर्राष्ट्रिय मान्यता र राजनीतिक हैसियतसँग जोडिएको छ । तर म्यान्माले सबै पक्षबीच संवादमार्फत हिंसा अन्त्य गर्ने आसियानको ‘पाँचबुँदे सहमति’ कार्यान्वयन गर्न अझै सहमति जनाएको छैन ।

विश्लेषकहरूका अनुसार थाइल्यान्डले पनि म्यान्मासँग सम्बन्ध सुधार गर्न व्यावहारिक कारण देखेको छ । दुई देशको लामो सीमाक्षेत्रमा जारी द्वन्द्वका कारण लाखौँ शरणार्थी थाइल्यान्ड पुगेका छन् । सीमावर्ती क्षेत्रमा साइबर अपराध, अनलाइन ठगी सञ्जाल र अवैध लागूऔषध तस्करीका गतिविधि पनि बैङ्ककका लागि चुनौती बनेका छन् ।

थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले म्यान्मासँग सीमा सुरक्षा, साइबर अपराध नियन्त्रण र शान्ति प्रक्रियाबारे छलफल हुने बताउनुभएको छ । उहाँले आङ सान सुकी र रेडक्रसबीच भएको भेटलाई सकारात्मक सङ्केतका रूपमा स्वागत गर्दै म्यान्माले दीर्घकालीन शान्ति र स्थायित्वतर्फ थप कदम चाल्ने अपेक्षा व्यक्त गरेका छन् ।

थाई सरकारी स्रोतका अनुसार राष्ट्रपति ह्लाइङलाई बैङ्ककस्थित सरकारी भवनमा सम्मान गारदद्वारा स्वागत गरिनेछ । त्यसपछि उनले प्रधानमन्त्री अनुतिन चार्नविराकुलसँग भेटवार्ता गर्नुका साथै व्यापार मञ्च र राजकीय भोजमा सहभागी हुनेछन् । भ्रमणका क्रममा दुवै देशबीच श्रम सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

यद्यपि मानवअधिकार पक्षधर समूहहरूले थाइल्यान्डको यस पहलको आलोचना गरेका छन् । उनीहरूका अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेका तथा मानवताविरुद्धका अपराधसम्बन्धी आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको अनुसन्धानको दायरामा रहेका ह्लाइङलाई कूटनीतिक सम्मान दिनु उपयुक्त होइन । ‘जस्टिस फर म्यान्मा’ समूहले उनलाई वैधता दिनुभन्दा कानूनी जवाफदेहितामा ल्याइनुपर्ने जनाएको छ ।

प्रकाशित समय : १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु