गृहपृष्ठ एनएमबी बैंकको नाफा ४ अर्ब माथि
एनएमबी बैंकको नाफा ४ अर्ब माथि
काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (Q4) को वित्तीय विवरण सार्वजनिक गर्दै पहिलोपटक वार्षिक खुद नाफा ४ अर्ब रुपैयाँ नाघेको जनाएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ४०.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने प्रतिशेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ।
प्रभावकारी वासलात व्यवस्थापनका कारण खुद ब्याज आम्दानी (NII) १७.५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। त्यस्तै, डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ सेवाको विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले वृद्धि भई २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा सुधार आएपछि खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले बढेर ६८ करोड १४ लाख रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।
बैंकका अनुसार पुँजी प्रतिफल (Return on Equity) र सम्पत्ति प्रतिफल (Return on Assets) मा पनि सुधार आएको छ। समीक्षा अवधिमा पुँजी प्रतिफल ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत कायम भएको छ।
एनएमबी बैंकले नाफा, आम्दानी तथा सञ्चालन सूचकमा आएको सुधारले बैंकको वित्तीय अवस्था थप सुदृढ बन्दै गएको जनाएको छ।
प्रकाशित समय : १२:०८ बजे



















