global ime bank Long Banner Ad

गृहपृष्ठ नबिल र शाइन रेसुङ्गालाई अन्तर्राष्ट्रिय सम्मान, आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा ‘बेस्ट बैंक’ घोषित

नबिल र शाइन रेसुङ्गालाई अन्तर्राष्ट्रिय सम्मान, आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा ‘बेस्ट बैंक’ घोषित

नबिल र शाइन रेसुङ्गालाई अन्तर्राष्ट्रिय सम्मान, आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा ‘बेस्ट बैंक’ घोषित

काठमाडौं । नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भारतको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा प्रदान गरिने ‘चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ अन्तर्गत ‘बेस्ट बैंक’ अवार्ड जितेका छन्।

भारतको नयाँदिल्लीमा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६ मा नबिल बैंकले वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक’ अवार्ड प्राप्त गरेको हो। त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ ‘बेस्ट डेभलपमेन्ट बैंक’ अवार्ड जित्नुका साथै ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी थप दुई विधामा समेत सम्मान प्राप्त गरेको छ।

यससँगै शाइन रेसुङ्गाले एकै संस्करणमा तीनवटा अन्तर्राष्ट्रिय अवार्ड आफ्नो नाममा पार्न सफल भएको छ। बैंकले हासिल गरेको यो उपलब्धिलाई नेपालको विकास बैंकिङ क्षेत्रका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मान्यताका रूपमा हेरिएको छ।

आयोजकका अनुसार अवार्डका लागि बिम्स्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका बैंक तथा वित्तीय संस्थाबाट खुला आवेदन आह्वान गरिएको थियो। विभिन्न देशका बैंक तथा वित्तीय संस्थाबीच भएको प्रतिस्पर्धामा वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफा आर्जन, नवप्रवर्तन, ग्राहक सेवा, दिगोपन तथा समग्र कार्यसम्पादनका आधारमा उत्कृष्ट संस्थाको छनोट गरिएको थियो।

अवार्ड छनोट प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय परामर्शदाता संस्था प्राइस वाटरहाउस कूपर्सका विज्ञहरू सम्मिलित स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको आयोजकले जनाएको छ। विश्वका १५० भन्दा बढी देशमा सेवा विस्तार गरेको पीडब्लुसीको सहभागिताले पुरस्कारको विश्वसनीयता अझ सुदृढ बनेको बताइएको छ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुङ्गाले पछिल्ला वर्षहरूमा नाफा, व्यवसाय विस्तार र वित्तीय सूचकमा निरन्तर सुधार गर्दै आएको छ। यसै उपलब्धिको आधारमा बैंकले अन्तर्राष्ट्रिय मञ्चमा एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्न सफल भएको विश्लेषण गरिएको छ।

सन् १९२५ मा स्थापना भएको इण्डियन चेम्बर अफ कमर्स भारतको अग्रणी वाणिज्यिक संस्था हो। दक्षिण एसियाली मुलुकबीच व्यापार, लगानी, बैंकिङ तथा वित्तीय सहकार्यलाई प्रवर्द्धन गर्दै आएको आईसीसीले हरेक वर्ष बैंकिङ तथा वित्तीय क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

प्रकाशित समय : १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु