गृहपृष्ठ देशभरका २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न
देशभरका २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न
काठमाडौं । नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ। कार्यक्रममा देशभरबाट करिब २०० जना च्यानल पार्टनर तथा डिलरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार हरेक वर्ष आयोजना हुने उक्त कार्यक्रमले लिट्मस र यसको डिलर नेटवर्कबीचको सहकार्यलाई थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारलाई सम्मान गर्ने तथा आगामी रणनीतिक योजनाबारे जानकारी आदानप्रदान गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशकभन्दा लामो यात्रालाई समेटिएको विशेष प्रस्तुति गरिएको थियो। कम्पनीको विकासक्रम, बजार नेतृत्व, उत्पादन क्षमता, महत्वपूर्ण उपलब्धि तथा भावी रणनीतिबारे सहभागीलाई जानकारी गराइएको थियो। साथै, अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन र विश्वस्तरीय उत्पादन मापदण्डमार्फत उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्याएको छ।
डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गरेका १२ जना डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ। ‘राइजिङ स्टार’, ‘पेमेन्ट एक्सिलेन्स’ तथा प्रतिष्ठित ‘लिट्मस एक्सिलेन्स अवार्ड’सहित विभिन्न विधामा पुरस्कार प्रदान गर्दै उत्कृष्टता, विश्वास र दीर्घकालीन साझेदारीको सम्मान गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले गुणस्तरमा कम्पनीले कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै गुणस्तर नै लिट्मसको पहिचान र प्रत्येक ग्राहकप्रतिको प्रतिबद्धता रहेको बताए। देशभर फैलिएको च्यानल पार्टनर नेटवर्कप्रति गर्व व्यक्त गर्दै उनले डिलरहरूको विश्वास र सहकार्यले कम्पनीलाई नयाँ प्रविधि अपनाउन, उच्च उत्पादन मापदण्ड कायम राख्न तथा नेपालको पूर्वाधार विकासमा योगदान दिन थप प्रेरित गरेको उल्लेख गरे।
कम्पनीका अनुसार लिट्मसको सफलता आफ्ना साझेदारहरूसँगको बलियो र दीर्घकालीन सम्बन्धमा आधारित छ। ‘पावर पार्टनर्स मिट २०८३’ ले साझा मूल्य सिर्जना, नवप्रवर्तनको प्रवर्द्धन तथा नेपालको विद्युतीय र पूर्वाधार क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ।
नेपालकै सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनीका रूपमा परिचित लिट्मस इन्डस्ट्रिज नेपालमा एल्युमिनियम तथा एलोय रड उत्पादन गर्ने एकमात्र कम्पनी पनि हो। पाँच दशकभन्दा लामो उत्पादन अनुभवसहित कम्पनीले ऊर्जा, निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका लागि उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउँदै आएको छ। साथै, कम्पनीले स्वदेशी बजारसँगै क्षेत्रीय निर्यात बजारमा पनि आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको जनाएको छ।
प्रकाशित समय : १२:०२ बजे



















