गृहपृष्ठ हर्मुज खुला नभएको इरानको स्पष्टोक्ति
हर्मुज खुला नभएको इरानको स्पष्टोक्ति
इरानले ओमानसँग नयाँ समुद्री यातायात मार्गसम्बन्धी भएको प्राविधिक समझदारीलाई लिएर हर्मुज जलघाँटी पुनः सञ्चालन हुन लागेको भन्ने व्याख्या अस्वीकार गर्दै जलघाँटी अझै बन्द नै रहेको र त्यसलाई खोल्ने निर्णय पूर्णतः अलग विषय भएको स्पष्ट गरेको छ । इरानले जलघाँटी बन्द रहनुको कारण अमेरिकाको नाकाबन्दी, सम्झौता उल्लङ्घन तथा आफूविरुद्ध जारी शत्रुतापूर्ण गतिविधिलाई जिम्मेवार ठहर गरेको छ ।
इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबीसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमति सुरक्षित समुद्री मार्ग व्यवस्थापनका लागि आवश्यक प्राविधिक पूर्वशर्त मात्र भएको बताए । उनका अनुसार यसलाई हर्मुज जलघाँटी पुनः खोल्ने निर्णयका रूपमा बुझ्न मिल्दैन ।
उनले अमेरिकी अधिकारीहरूको पछिल्ला अभिव्यक्ति र चेतावनीले इरानको नीति परिवर्तन नहुने उल्लेख गर्दै राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितका आधारमा मात्र निर्णय लिइने बताए । इरान कुनै पनि बाह्य दबाबबाट प्रभावित नहुने उनको भनाइ थियो ।
बाघाईका अनुसार सुरक्षित समुद्री मार्ग निर्माणसम्बन्धी इरान–ओमान वार्ता अप्रिल ८ मा भएको युद्धविरामसम्बन्धी समझदारीपछि सुरु भएको थियो भने जुन १८ को सहमतिपछि थप तीव्र बनेको हो । दुवै देशले पुरानो उत्तरी मार्ग र असुरक्षित दक्षिणी मार्गको विकल्पका रूपमा नयाँ ‘ट्राफिक सेपरेसन स्किम’ (टीएसएस) तयार गर्ने विषयमा छलफल गरिरहेका छन् ।
उनले हर्मुजको अवस्थालाई मे ३० अघिको अवस्थामा फर्काउने कुनै योजना नरहेको स्पष्ट पार्दै विगतका महिनाका घटनाले नयाँ सुरक्षा संयन्त्रको आवश्यकता देखाएको बताए । इरानको सार्वभौम अधिकारको पूर्ण सम्मान सुनिश्चित भएपछि मात्र जलघाँटी पुनः सञ्चालनबारे निर्णय हुन सक्ने उहाँले उल्लेख गर्नुभयो । ओमानसँग भइरहेको वार्ता विशुद्ध द्विपक्षीय विषय भएको र त्यसमा तेस्रो पक्षको कुनै भूमिका नरहेको उनको भनाइ थियो ।
ओमानसँगको प्राविधिक छलफल सकारात्मक रूपमा अघि बढिरहेको स्वीकार गर्दै बाघाईले त्यसलाई जलघाँटी खुल्ने वा बन्द रहने निर्णयसँग जोड्न नहुने दोहोर्याए । उनका अनुसार नयाँ समुद्री मार्गसम्बन्धी समझदारी आवश्यक शर्त भए पनि जलघाँटी पुनः सञ्चालनका लागि त्यो मात्र पर्याप्त आधार होइन ।
प्रवक्ताले हालै इरानी पूर्वाधार तथा केशम टापुका आवासीय क्षेत्रमाथि भएको अमेरिकी सैन्य आक्रमणको प्रसङ्ग उठाउँदै इरानले क्षेत्रीय मुलुकहरू तथा बुल्गेरिया, बेलायत र युक्रेनलगायत केही देशलाई आफ्नो भूमि वा सैन्य सुविधा इरानविरुद्ध प्रयोग गर्न नदिन कूटनीतिक माध्यमबाट चेतावनी दिएको जानकारी दिए ।
संयुक्त राष्ट्रसङ्घको महासभाले आक्रमणको परिभाषासम्बन्धी पारित गरेको प्रस्ताव उद्धृत गर्दै उहाँले कुनै देशले आक्रमणकारीलाई सैन्य अड्डा, सुविधा वा रसद उपलब्ध गराए त्यस्तो देश पनि आक्रमणमा संलग्न मानिने र इरानले आत्मरक्षाको अधिकार प्रयोग गर्न सक्ने बताए ।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले १४ बुँदे इस्लामाबाद समझदारीपत्रलाई इरानको विदेश नीतिको भावी आधारका रूपमा व्याख्या गरेको छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले उक्त समझदारी राष्ट्रिय सहमतिका आधारमा बनेको उल्लेख गर्दै यसले इरान, क्षेत्र तथा उसका साझेदारहरूको सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छन् ।
यता, इजरायली सञ्चारमाध्यमहरूले मध्यस्थकर्ताहरूले इरान र अमेरिकाबीचको समझदारी पुनः सक्रिय गरी हर्मुज जलघाँटी पुनः सञ्चालन गराउने प्रयास गरिरहेको जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलघाँटी खोल्न सहमति जनाएको दाबी गर्दै ठूलो सैन्य कारबाही नगर्ने सङ्केत दिएको एक दिनपछि यस्तो कूटनीतिक पहल सार्वजनिक भएको हो ।
प्रकाशित समय : १७:५४ बजे



















