गृहपृष्ठ तीस महिनामा सकिनुपर्ने ६२ किमि हुलाकी सडक १० वर्षसम्म अधुरै
तीस महिनामा सकिनुपर्ने ६२ किमि हुलाकी सडक १० वर्षसम्म अधुरै
महेन्द्रनगर । कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक निर्माण सुरु भएको करिब १० वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन। २०७३ फागुनमा ३० महिनाभित्र काम सक्ने गरी तीन चरणमा ठेक्का सम्झौता भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण योजना अझै अलपत्र छ।
हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेका अनुसार सडकको पहिलो (डोकेबजार–बेलौरी) र अन्तिम (बेल्डाडी–दैजी) खण्डको काम सकिएको छ। तर बीचको बेलौरी–बेल्डाडी खण्डमा ठेकेदारको लापरबाहीपछि ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रियाको तयारी भइरहेको छ।
कार्यालयका अनुसार निर्माण कम्पनीले ११ किलोमिटर सडक कालोपत्रे गरे पनि अधिकांश भाग भत्किएको छ। भारतसँगको सीमा विवादका कारण पचुई क्षेत्रमा करिब १.४ किलोमिटर सडक भने निर्माण गर्न नसकिने अवस्था रहेको कार्यालयले जनाएको छ।
यसअघि उक्त खण्डको ठेक्का ४१ करोड रुपैयाँमा भएको थियो भने निर्माण व्यवसायीले २८ करोड रुपैयाँ भुक्तानीसमेत लिइसकेका छन्। कार्यालयले डेढ महिनाभित्र नयाँ ठेक्का आह्वान गर्ने तयारी गरेको जनाएको छ।
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि सडक निर्माण अघि नबढेको बताए। उनका अनुसार वर्षायाममा सडक हिलाम्मे हुँदा स्थानीयवासीलाई आवतजावतमा सास्ती भइरहेको छ। उनले नयाँ ठेक्कामार्फत समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए।
प्रकाशित समय : १४:३२ बजे



















