गृहपृष्ठ क्षमताभन्दा बढी कैदी रहेको श्रीलङ्काली जेलमा दङ्गा, सेना परिचालन
क्षमताभन्दा बढी कैदी रहेको श्रीलङ्काली जेलमा दङ्गा, सेना परिचालन
क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दङ्गा नियन्त्रण गर्न श्रीलङ्काले आइतबार सयौँ सैनिक र विशेष कमान्डो परिचालन गरेको छ । घटनामा एक कैदीको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
प्रहरी नायब महानिरीक्षक सञ्जिव मेदावाट्टेका अनुसार राजधानी कोलम्बोनजिकै रहेको महारा जेलमा शनिबार कैदीहरूले विभिन्न भवनमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रणमा लिइएको हो ।
“शान्ति–व्यवस्था पुनःस्थापना गर्न र कैदीहरूलाई कोठामा फर्काउन सशस्त्र बल तथा विशेष कार्यदल ९एसटीएफ० का कमान्डोको सहयोग लिइएको छ”, मेदावाट्टेले जेलबाहिर पत्रकारहरूसँग भने् ।
उनका अनुसार दङ्गाका क्रममा कैदीहरूले जेलको भान्साघर, अस्पताल, नवनिर्मित पुनःस्थापना भवन तथा व्यावसायिक तालिम केन्द्रमा क्षति पु¥याएका छन् ।
महारा जेलमा चार हजार १०० कैदीबन्दी राखिएका थिए, जुन जेलको क्षमताभन्दा करिब चार गुणा बढी हो । श्रीलङ्काका अन्य कारागारमा पनि क्षमताभन्दा बढी कैदी राख्ने समस्या रहेको अधिकारीले बताएका छन् ।
सन् २०२० को नोभेम्बरमा पनि यही जेलमा भएको दङ्गामा गोली चल्दा ११ कैदीको मृत्यु भएको थियो भने करिब १२० जना घाइते भएका थिए । पछिल्लो घटना सोही क्षेत्रको अर्को जेलमा भएको दङ्गाको करिब एक महिनापछि भएको हो । उक्त घटनामा १० सुरक्षाकर्मी र २१ कैदीको मृत्यु भएको थियो ।
गत महिना श्रीलङ्काली अधिकारीले प्रयोगविहीन सरकारी भवनलाई जेलमा परिणत गर्ने योजना सार्वजनिक गरेका थिए । देशका जेलमा रहेका कैदीमध्ये तीन चौथाइभन्दा बढी मुद्दाको फैसला पर्खिरहेका पुर्पक्षका बन्दी रहेको र उनीहरूमध्ये अधिकांश लागुऔषधसम्बन्धी कसुरमा थुनामा रहेको बताइएको छ ।रासस
प्रकाशित समय : १७:०५ बजे



















