गृहपृष्ठ ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
काठमाडौँ । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र तथा उनका लाखौँ समर्थकलाई स्तब्ध बनाएको छ ।
देशका कार्यकारी प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्षनेता, पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही, विदेशी शुभेच्छुक तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले निम्स दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको साहस, समर्पण र नेपालको अन्तरराष्ट्रिय पहिचान निर्माणमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।
प्रधानमन्त्रीको श्रद्धाञ्जलीः ‘इतिहासमा सधैँ जीवित रहनेछन्’
प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै भन्नुभएको छ, निर्मल पुर्जासहित दिवङ्गत सबै आरोहीहरूको भौतिक यात्रा समाप्त भए पनि उनीहरूको साहस, समर्पण र योगदान इतिहासमा सधैँ प्रेरणाको स्रोतका रूपमा जीवित रहनेछ ।
उहाँले लेखेको छ, “आरोहण केवल शिखर चुम्ने यात्रा होइन, यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि समेटेर पनि राख्छ । तर हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।”
प्रधानमन्त्री शाहले ब्रोड पिक दुर्घटनामा निधन भएका सम्पूर्ण आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
राजनीतिक नेतृत्वको श्रद्धाञ्जली
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले निम्स दाइसँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्दै भावुक सन्देश सार्वजनिक गरेको छ । उनले लेखेको छ, “प्रिय निम्स, फर्किएर भेट्ने वाचा थियो । तर तिमी नफर्किने बाटो गएछौँ । अब त केवल सम्झनाहरूमात्र बाँकी छन् । तिम्रो अनुपस्थितिले मन भारी भएको छ । तर तिमी र तिम्रो अदम्य साहस सम्झनाका रूपमा अनन्तसम्म बाँचिरहनेछ । जहाँ भए पनि, चिरशान्तिमा रहनू ।”
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि निम्स दाइ कठिन परिस्थितिबाट पनि फर्कने व्यक्तित्व भएकाले अन्तिम क्षणसम्म आफू आशावादी रहेको उल्लेख गरेको छ । उनले निम्स दाइसँग ‘प्रोजेक्ट पसिबल’ सुरु हुनुअघि नै भेट भएको स्मरण गर्दै लेखेको छ, “संसारले तपाईँलाई चिन्नुअघि नै तपाईँभित्रको आत्मविश्वास र साहस देखेको थिएँ । तपाईँ फेरि फर्कनुहुन्छ भन्ने विश्वास अन्तिम क्षणसम्म थियो ।”
पर्यटन क्षेत्रको अपूरणीय क्षति
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निम्स दाइलाई ‘हिमाल जित्ने मानिसमात्र होइन, सपना जगाउने मित्र’का रूपमा स्मरण गरेको छ ।
उनका अनुसार निम्स दाइको लक्ष्य व्यक्तिगत कीर्तिमान कायम गर्नुमात्र थिएन । उहाँ सुरक्षित, व्यवस्थित र सम्मानजनक पर्वतारोहण संस्कृति निर्माण गर्न, नेपाली गाइड तथा पर्वतारोहीलाई अन्तरराष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न, वर्षभरि हिमाली पर्यटनलाई सक्रिय बनाउन तथा नेपालको साहसिक पर्यटनलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न निरन्तर लागिरहको थियो ।
विश्वभरबाट श्रद्धाञ्जली
निम्स दाइको निधनसँगै विश्वभरका पर्वतारोही, साहसिक खेलकुदका अभियन्ता, पर्यटनकर्मी तथा उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उनको जीवन, विश्व कीर्तिमान र पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानलाई विशेष प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका छन् ।
विशेषगरी आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना छ दिनमा आरोहण गरेर बनाएको विश्व कीर्तिमानलाई आधुनिक पर्वतारोहण इतिहासकै सबैभन्दा असाधारण उपलब्धिमध्ये एकका रूपमा स्मरण गरिएको छ ।
ब्रोड पिक दुर्घटना
निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय आरोही टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब छ हजार ७०० मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो । टोलीमा छ नेपाली र चार विदेशी आरोही सहभागी थिए ।
दुर्घटनापछि पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन, स्थानीय उद्धार टोली तथा के–२ क्षेत्रमा रहेका अनुभवी आरोहीहरू परिचालन गरिएका थिए । प्रतिनिधिसभा सदस्य तथा अनुभवी आरोही मिङ्मा डेभिड शेर्पा पनि खोजी अभियानमा सहभागी हुनुभएको थियो । व्यापक खोजीपछि निम्स दाइसहित सम्पूर्ण आरोहीको निधन भएको पुष्टि गरिएको हो ।
को हुन् निम्स दाइ ?
२५ जुलाई १९८३ मा म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पुर्जाको बाल्यकाल चितवनमा बितेको थियो । बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि उहाँ बेलायती रोयल नेभीको स्पेसल बोट सर्भिस ९एसबीएस०मा छनोट हुने पहिलो नेपाली बने ।
सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना छ दिनमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गर्नुभयो । यसअघि रहेको सात वर्ष पुरानो विश्व कीर्तिमान तोडेर उहाँले नेपाललाई विश्व पर्वतारोहण इतिहासमा नयाँ उचाइमा पुर्याए।
उनले हिमाल आरोहणलाई व्यक्तिगत सफलतामा सीमित नराखी नेपाल, नेपाली पर्वतारोही र साहसिक पर्यटनको विश्वव्यापी प्रवर्द्धनका लागि अभियानकै रूपमा अघि बढाए ।
अमर रहनेछ उनको योगदान
निर्मल पुर्जा अब भौतिक रूपमा हाम्रो बीच नरहनु भए पनि उहाँले छाडेर जानुभएको साहस, नेतृत्व, अनुशासन, मानवता र असम्भवलाई सम्भव बनाउने आत्मविश्वास नेपाली समाज र विश्व पर्वतारोहण समुदायका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ । उनको जीवनले एउटा सन्देश दिएको छ– सीमाहरू प्रायः हाम्रो मनमा हुन्छन्स दृढ इच्छाशक्ति, कठोर परिश्रम र आत्मविश्वासले असम्भव देखिने लक्ष्य पनि प्राप्त गर्न सकिन्छ ।
निम्स दाइको भौतिक शरीर विलीन भएको छ, तर उहाँको अदम्य साहस, समर्पण र योगदान इतिहासमा सधैँ अमर रहनेछ । ब्रोड पिक दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।
प्रकाशित समय : ०७:२६ बजे



















