गृहपृष्ठ मिस नेपाल २०२६ मा प्रतिमा खड्काको दाबेदारी, मानसिक स्वास्थ्य र मौलिक ज्ञानलाई प्राथमिकता
मिस नेपाल २०२६ मा प्रतिमा खड्काको दाबेदारी, मानसिक स्वास्थ्य र मौलिक ज्ञानलाई प्राथमिकता
काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी नम्बर १४ प्रतिमा खड्काले सौन्दर्य प्रतियोगितालाई केवल बाह्य सुन्दरतामा सीमित नराखी सामाजिक उत्तरदायित्व, सेवा र सकारात्मक परिवर्तनको माध्यम बनाउने लक्ष्यसहित आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन्।
अष्ट्रेलियाबाट कम्युनिटी सर्भिसमा स्नातक र सामाजिक कार्यमा स्नातकोत्तर अध्ययन गरेकी खड्कासँग बहुसांस्कृतिक समुदायसँग काम गरेको अनुभव छ। उनले अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालको मौलिक ज्ञान, संस्कृति र सामाजिक परिवेशसँग जोडेर दिगो सामाजिक परिवर्तन सम्भव रहेको बताएकी छन्।
सन् २०१६ देखि ‘आर्ट अफ लिभिङ फाउन्डेसन’मा स्वयंसेवक तथा ‘दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया’ (न्यु साउथ वेल्स) की राज्य सचिवसमेत रहेकी उनले मानसिक स्वास्थ्यको उपचारभन्दा मानसिक कल्याणसम्बन्धी शिक्षामा जोड दिनुपर्ने धारणा राखेकी छन्। विद्यालय तहदेखि नै भावना व्यवस्थापन, तनाव नियन्त्रण र भावनात्मक सन्तुलनका जीवनोपयोगी सीप सिकाउन आवश्यक रहेको उनको भनाइ छ।
खड्काले नेपालका ध्यान, योग, सचेत श्वासप्रश्वास र माइन्डफुलनेसजस्ता परम्परागत अभ्यासलाई आधुनिक पुस्तासँग वैज्ञानिक र व्यवहारिक रूपमा जोड्ने लक्ष्य लिएको बताएकी छन्। साथै, व्यक्तिको आन्तरिक सशक्तीकरणबाट परिवार, समुदाय र अन्ततः राष्ट्र बलियो बन्ने विश्वास व्यक्त गरेकी छन्।
मानसिक स्वास्थ्यसँगै जलवायु परिवर्तन र वातावरण संरक्षणलाई पनि आफ्नो प्राथमिकतामा राखेकी उनले कृषि र प्राकृतिक स्रोतमा आधारित नेपालका लागि वातावरण संरक्षण र मानव कल्याणलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याएकी छन्।
मिस नेपाल २०२६ मार्फत भावनात्मक रूपमा सक्षम, सामाजिक रूपमा जिम्मेवार र मौलिक मूल्यप्रति गर्व गर्ने नयाँ पुस्ता निर्माणमा योगदान पुर्याउने लक्ष्य रहेको बताउँदै उनले नेपाललाई करुणा, सचेत जीवनशैली र प्राचीन ज्ञानको विश्वव्यापी केन्द्रका रूपमा चिनाउने आफ्नो दीर्घकालीन सपना पनि व्यक्त गरेकी छन्।
प्रकाशित समय : ०६:२३ बजे



















