गृहपृष्ठ आज उद्घाटन हुँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, परीक्षण अवधिमा निःशुल्क
आज उद्घाटन हुँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, परीक्षण अवधिमा निःशुल्क
काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शनिबार औपचारिक उद्घाटन हुँदै छ। उद्घाटनसँगै निर्माण कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षसहित उच्च अधिकारीको उपस्थितिमा बिहान १०ः२५ बजे सुरुङमार्ग उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङमार्गभित्र सवारी चलाएर औपचारिक रूपमा सञ्चालनको शुभारम्भ गर्नेछन्।
सुरुआती चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। केही दिन सुरक्षा प्रणाली र ट्राफिक व्यवस्थापनको परीक्षण गरेपछि अन्य सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइने सडक विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइनेछ।
कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्ग नियमित सञ्चालनमा आएपछि भने सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्नेछ। विभागका अनुसार कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौं आउँदा ११५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। ठूला बस र ट्रकका लागि काठमाडौं प्रवेशमा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
पैदलयात्री, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन। त्यस्तै पेट्रोल, डिजेल, ग्यासलगायत ज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनको प्रवेश पनि निषेध गरिएको छ।
आयोजनाअन्तर्गत मुख्य सुरुङसँगै छुट्टै उद्धार सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङबाट नियमित सवारी सञ्चालन हुनेछ भने आपत्कालीन अवस्थाका लागि उद्धार सुरुङ प्रयोग गरिनेछ। परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गमा सिसिटिभी निगरानी, सञ्चार प्रणाली, दमकल, आकस्मिक उद्धार सेवा, अक्सिजन आपूर्ति तथा अन्य आवश्यक सुरक्षा पूर्वाधार जडान गरिएको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा निस्कने सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो सडकबाट हुने सास्ती कम हुने अपेक्षा गरिएको छ। यसबाट यात्राको समय करिब एक घन्टा बचत हुने र इन्धन खपतसमेत घट्ने अनुमान गरिएको छ।
सुरुङमार्ग निर्माणमा जापान सरकारको करिब २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ। निर्माणको जिम्मा जापानको हाज्मा एन्डो कर्पोरेसनले लिएको थियो। ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कोभिड–१९ महामारी र अन्य प्राविधिक जटिलताका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।
सुरुङमार्ग सञ्चालनपछि सवारीसाधनबाट विद्युतीय माध्यमबाट शुल्क संकलन गरिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
प्रकाशित समय : ०६:२९ बजे



















