global ime bank Long Banner Ad

गृहपृष्ठ गुणस्तरहीन खाद्यान्न उत्पादन तथा बिक्री गर्ने ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा

गुणस्तरहीन खाद्यान्न उत्पादन तथा बिक्री गर्ने ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा

गुणस्तरहीन खाद्यान्न उत्पादन तथा बिक्री गर्ने ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा

जनकपुरधाम। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो।

कार्यालय प्रमुख विमलकुमार दाहालका अनुसार बारा र पर्साका ५१, महोत्तरीका सात, सर्लाही र रौतहटका तीन तथा धनुषाका एक उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ। साथै सप्तरी र सिरहाका तीन तथा धनुषाका दुई गरी थप पाँच उद्योगी–व्यवसायीविरुद्ध खाद्य स्वच्छता कायम नगरेको र खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।

उनका अनुसार अनुगमनका क्रममा सङ्कलित नमुनाको परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पुष्टि भएपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।

गत आर्थिक वर्षमा मधेस प्रदेशबाट कानुनी प्रयोजनका लागि ५७८, उत्पादकको आग्रहमा एक हजार २२८, सरकारी निकायबाट प्राप्त २० सहित कुल चार हजार ५५९ खाद्य नमुना सङ्कलन गरिएको थियो। तीमध्ये ३५ नमुनाको परीक्षण प्रतिकूल देखिएको र १० नमुनामा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

सोही अवधिमा ५१० वटा ताजा फलफूल तथा तरकारीमा विषादी परीक्षण तथा ३१० वटा स्वच्छता सर्भिलेन्स गरिएको दाहालले जानकारी दिए।

खाद्य स्वच्छता प्रवर्द्धनका लागि कार्यालयले धनुषामा ६० पटक बजार अनुगमन गर्दै २५० होटल तथा रेष्टुरेन्टको निरीक्षण गरेको छ। यस अवधिमा १२१ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, ३०७ उद्योगको नवीकरण तथा ३४७ उद्योगका लागि सिफारिस गरिएको छ। नमुना परीक्षण, अनुज्ञापत्र, नवीकरण र सिफारिसलगायतका सेवाबाट ३८ लाख ३६ हजार १७० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

गत असारमा धनुषाका ४४ होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनका क्रममा १२ वटामा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम चार लाख २० हजार रुपैयाँ जरिवाना गरिएको थियो। त्यस्तै, सर्लाहीका २४ होटलको अनुगमनमा १७ वटामा कैफियत भेटिएपछि छ लाख ६७ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेका तथा अन्य अखाद्य वस्तुहरू जफत गरी सम्बन्धित सरोकारवालाको रोहबरमा नष्ट गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित समय : ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु