काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ ।

संस्थानले गत वर्ष दूधको अत्यधिक उत्पादनका कारण बटर र दूध पाउडरको ठूलो मौज्दात हुँदा किसानलाई समयमै भुक्तानी गर्न नसकिएको स्वीकार गर्दै अहिले बक्यौता भुक्तानीको अवधि छ–सात महिनाबाट घटेर दुईतीन महिनामा सीमित भएको जनाएको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा डीडीसीका प्रवक्ता निलकण्ठ गौतमले गत वर्ष फ्लस सिजनमा अपेक्षाभन्दा धेरै दूध संकलन हुँदा त्यसलाई पाउडर र बटरमा रूपान्तरण गरी भण्डारण गर्नुपरेकाले नगद प्रवाहमा समस्या आएको बताए। उनका अनुसार ती उत्पादन बजारमा बिक्री हुन समय लागेकाले किसानको भुक्तानीमा ढिलाइ भएको हो ।

‘कोहीपनि किसानको दूध खेर जान नदिने नीति लिएका छौं । त्यसैले बढी उत्पादन भएको समयमा दूधलाई पाउडर र बटर बनाएर स्टोरमा राख्नुपर्छ । त्यो उत्पादन कम्तीमा छ महिना बिक्री हुन नसक्दा नगद प्रवाहमा असर पुग्छ र किसानलाई भुक्तानी ढिलो हुने अवस्था सिर्जना हुन्छ,’ उनले भने ।

प्रवक्ता गौतमका अनुसार अहिले स्टक क्रमशः बिक्री भइरहेकाले किसानको बक्यौता भुक्तानी सहज बन्दै गएको छ ।

‘पहिला छ–सात महिनासम्मको भुक्तानी बाँकी थियो । अहिले त्यो अवस्था सुधार भएर २–३ महिनाको रेन्जमा आएको छ,’ उनले भने ।

गौतमले डीडीसीको मूल उद्देश्य किसानबाट दूध संकलन गरी उपभोक्तासम्म गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ पुर्याउनु र बिक्रीबाट प्राप्त रकम पुनः किसानसम्म पुर्याउनु रहेको बताए।

उनका अनुसार संस्थानले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका किसानबाट दूध संकलन गर्दै आएको छ। दुर्गम क्षेत्रका किसानले उत्पादन गरेको दूधसमेत बजारमा ल्याउने सरकारी दायित्वका कारण डीडीसीले निजी डेरीको तुलनामा बढी लागत व्यहोर्नुपरेको उनले उल्लेख गरे।

उनले डीडीसी दुर्गम क्षेत्रका किसानको दूध खेर जान नदिन र उनीहरूको उत्पादनको मूल्य गाउँमै पुगोस् भन्ने उद्देश्यका साथ स्थापना भएको संस्था भएको बताए।

उनले भने, ‘हामी नजिकको दूध मात्र संकलन गरेर पनि काम चलाउन सक्थ्यौं। तर सरकारको उद्देश्य दुर्गम क्षेत्रका किसानलाई पनि राहत पुग्ने भएकाले हामी देशभरबाट दूध संकलन गर्छौं।’

उनले निजी डेरीहरू प्रायः नजिकका क्षेत्रबाट दूध संकलन गरी नाफामुखी रूपमा सञ्चालन हुने उल्लेख गर्दै उनले भने, ‘हामी भने सेवामूलक उद्देश्यका साथ काम गरिरहेका छौं। त्यसैले ढुवानी, कोल्ड चेन र व्यवस्थापनका कारण हामीलाई आर्थिक भार पनि बढी पर्छ।’

उनले खुला रूपमा बिक्री हुने दूधका कारण प्याकेजिङ गरिएको दूधको बजारमा चुनौती थपिएको बताए।

उनले उपभोक्तामा खुला दूधप्रति अझै विश्वास रहेको उल्लेख गर्दै उनले भने, ‘बेच्नेले फार्मबाट भर्खरै ल्याएको दूध हो भनेर भन्नेबित्तिकै धेरै उपभोक्ताले पत्याइहाल्छन् । तर सम्पूर्ण कोल्डचेन कायम गरेर पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मबाट दूध संकलन गरी बजारमा ल्याउने गरेका छौं ।’

नयाँ सरकारको चासोपछि बिक्रीमा सुधार

प्रवक्ता गौतमले नयाँ सरकारले स्वदेशी उत्पादनको प्रवद्र्धनमा देखाएको चासोका कारण डीडीसीका उत्पादनको बिक्रीमा सकारात्मक प्रभाव परेको बताए।

उनले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि संस्थानले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको उल्लेख गर्दै नयाँ सरकार गठनपछि सरकारले डीडीसीका उत्पादनप्रति देखाएको चासोले बिक्री बढाउन सकारात्मक भूमिका खेलेको बताए।

उनले भने, ‘नयाँ सरकार गठन भइसकेपछि दुग्ध विकास संस्थानलाई केही सहयोग पुगेको छ । हाम्रो उत्पादनबारेसरकारले चासो देखाएकाले गर्नुपर्ने प्रचारप्रसार सरकारकै तर्फबाट भएको जस्तो भएको छ । त्यसका कारण दुग्धजन्य पदार्थको बिक्री केही मात्रामा बढिरहेको अवस्था छ ।’

यद्यपि, दुग्धजन्य पदार्थको बिक्री वर्षभरि एकनास नहुने उनको भनाइ छ । बिक्री उपभोक्ताको माग र मौसमअनुसार परिवर्तन हुने उनले बताए।

उनका अनुसार चाडपर्व, विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्यक्रम हुने समयमा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने गर्छ ।

गर्मी, चाडपर्व, विवाह, व्रतबन्ध तथा धार्मिक गतिविधि हुने समयमा दही, लस्सी, मोही, आइसक्रिमलगायतका उत्पादनको माग उल्लेखनीय रूपमा बढ्ने गरेको उनको भनाइ छ।

मोहीलाई कोल्ड ड्रिंकको विकल्प बनाउन प्रयास

डीडीसीले यस वर्षदेखि मोहीलाई नयाँ ब्रान्डिङसहित बजारमा ल्याएको जनाएको छ ।

गौतमका अनुसार मोही प्राकृतिक तथा स्वास्थ्यका दृष्टिले लाभदायक पेय पदार्थ भएकाले कोक, फ्यान्टा लगायतका चिनीजन्य पेय पदार्थको विकल्पका रूपमा प्रवद्र्धन गर्न थालिएको हो ।

‘उपभोक्ताले स्वदेशी मोही प्रयोग गरे त्यसबाट प्राप्त रकम गाउँका किसानसम्म पुग्छ। खपत बढे किसानलाई उत्पादन बढाउन पनि प्रोत्साहन मिल्छ,’ उनले भने ।

गौतमका अनुसार डीडीसीका १५–२० प्रकारका दुग्धजन्य उत्पादनमध्ये सबैभन्दा धेरै स्टक बटर र दूध पाउडरको हुन्छ ।

गत वर्ष करिब ५०० मेट्रिक टन बटर र ७०० मेट्रिक टन दूध पाउडर स्टकमा रहेको र अहिले ती उत्पादन क्रमशः बजारमा बिक्री भइरहेको गौतमले बताए।

उनले अहिले वैशाखदेखि असोजसम्मको अवधिलाई ‘लिन सिजन’ मानिने र यस अवधिमा किसानबाट दूध उत्पादन घट्ने तर बजारको माग बढ्ने बताए।

उनले भने, ‘चाडपर्व, धार्मिक गतिविधि र गर्मी मौसमका कारण दुग्धजन्य तथा चिसा पेय पदार्थको माग बढ्ने भएकाले अहिले मौज्दातमा रहेको बटर र पाउडर क्रमशः बजारमा खर्च भइरहेको अवस्था छ।’

निजी डेरीसँग प्रतिस्पर्धा चुनौती

डीडीसीले निजी डेरीसँगको प्रतिस्पर्धालाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ।

गौतमका अनुसार निजी डेरीहरूले उत्पादन क्षेत्र नजिकैबाट दूध संकलन गर्ने, बढी मूल्य प्रस्ताव गर्ने तथा नाफामुखी रूपमा सञ्चालन हुने भएकाले डीडीसीलाई लागत व्यवस्थापनमा कठिनाइ हुने गरेको छ।

यद्यपि, गुणस्तरका सबै सरकारी मापदण्ड पूरा गर्ने विषयमा डीडीसी अझै पनि अग्रस्थानमा रहेको उनको दाबी छ।

‘हामी नेपाल सरकारको खाद्य गुणस्तर तथा प्याकेजिङ मापदण्ड पूर्ण रूपमा पालना गर्छौं। गुणस्तरमा अहिले पनि डीडीसी नम्बर वान हो,’ उनले भने।

४० वर्ष पुरानो प्रविधि, आधुनिकीकरण आवश्यक

डीडीसीले अबको प्रमुख आवश्यकता प्रविधि आधुनिकीकरण भएको जनाएको छ ।

गौतमका अनुसार सन् १९८८ (वि.सं. २०४५) पछि उत्पादन प्रविधिमा ठूलो लगानी हुन नसकेकाले अहिले पनि करिब ४० वर्ष पुरानो प्रणालीबाट उत्पादन भइरहेको छ।

उनले डिजिटल तथा आधुनिक प्रविधिमा लगानी भए बेबी पाउडर, चकलेट लगायतका थप मूल्य अभिवृद्धि भएका दुग्धजन्य उत्पादन नेपालमै उत्पादन गर्न सकिने बताए।

‘डीडीसी सेवामूलक संस्था भएकाले आफैंले मूल्य निर्धारण गरेर ठूलो नाफा कमाउन सक्दैन। त्यसैले प्रविधि सुधारका लागि सरकारको लगानी आवश्यक छ,’ उनले बताए।

प्रवक्ता गौतमले किसान र उपभोक्ताप्रति आभार व्यक्त गर्दै स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको प्रयोग बढाउन आग्रह गरे। उनका अनुसार उपभोक्ताको साथ र किसानको निरन्तर सहयोगकै कारण डीडीसीले आफ्नो सेवा निरन्तर सञ्चालन गर्न सकेको छ।