global ime bank Long Banner Ad

गृहपृष्ठ सिक्किम सुरुङ दुर्घटनामा नौ जनाको मृत्यु

सिक्किम सुरुङ दुर्घटनामा नौ जनाको मृत्यु

सिक्किम सुरुङ दुर्घटनामा नौ जनाको मृत्यु

भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन् । विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य कठिन बनेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा भएको हो । त्यसबेला मजदुरहरू सुरुङ निर्माणको काम गरिरहेका थिए ।

सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरणका निर्देशक राजीव रोकाले सुरुआतमा २५ देखि २७ जना मजदुर फसेको अनुमान गरिएको बताउँदै हालसम्म नौ जनाको शव निकालिएको जानकारी दिए । उनका अनुसार अझै १५ जना सुरुङभित्र रहेको अनुमान गरिएको छ र उनीहरूको उद्धारका लागि अभियान जारी छ ।

प्रारम्भिक जानकारीअनुसार सुरुङ भत्किनुको कारण विस्फोट हुन सक्ने अनुमान गरिएको भए पनि त्यसको वास्तविक कारण अझै स्पष्ट हुन सकेको छैन । दुर्घटना सुरुङको गहिरो भागमा भएकाले अनुसन्धानमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनयता यस क्षेत्रमा परेको भारी मनसुनी वर्षाले पनि दुर्घटनामा भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ ।

उद्धार कार्यमा सबैभन्दा ठूलो चुनौती सुरुङभित्र चट्टानबाट निस्किएको विषाक्त मिथेन ग्यास बनेको छ । अक्सिजन उपकरणसहितका विशेष उद्धार टोलीलाई मात्र सुरुङभित्र प्रवेश गर्न अनुमति दिइएको छ ।

राजीव रोकाले ग्यासको मात्रा अत्यधिक भएकाले उद्धार अभियान जटिल बने पनि अभियान तीव्र रूपमा जारी रहेको बताउनुभयो । खानी दुर्घटनामा उद्धारको अनुभव भएका विशेष दक्ष टोलीलाई समेत परिचालन गरिएको उनले जानकारी दिए ।

भारतमा ठूला पूर्वाधार निर्माणका क्रममा हुने यस्ता दुर्घटना बारम्बार दोहोरिने गरेका छन् । वातावरणविद्हरूले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेका विकास निर्माणका गतिविधिले प्राकृतिक जोखिम बढाएको चेतावनी दिँदै आएका छन् ।

यसअघि सन् २०२३ मा उत्तराखण्ड राज्यमा निर्माणाधीन सडक सुरुङ भत्किँदा ४१ जना मजदुर १७ दिनसम्म सुरुङभित्र फसेका थिए । उनीहरूलाई लामो उद्धार अभियानपछि सकुशल बाहिर निकालिएको थियो ।

 

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु