गृहपृष्ठ एकै दिनमा चार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए
एकै दिनमा चार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए
कागजातविहीन विदेशी नागरिकलाई आफ्नो देश फर्किन दबाब बढिरहेका बेला छिमेकी मुलुकबाट अफगान शरणार्थीहरू स्वदेश फर्किने क्रम तीव्र बनेको छ । यसै क्रममा आइतबार एकै दिन चार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएको सरकारी समाचार संस्था ‘बख्तर न्युज एजेन्सी’ले सोमबार जनाएको छ ।
समाचारअनुसार, ७९० अफगान शरणार्थी परिवारका चार हजार १०० सदस्य आइतबार अफगानिस्तान फर्किएका हुन् ।
फर्किएका परिवारमध्ये ७७२ परिवारलाई सीमा नाकामा आवश्यक सहयोग उपलब्ध गराई सम्बन्धित प्रान्तमा पठाइसकिएको र बाँकी १८ परिवारलाई पनि छिट्टै गृह प्रान्त पठाइने बख्तरले जनाएको छ ।
स्वदेश फर्किएका अधिकांश शरणार्थी पाकिस्तानबाट आएका हुन् ।
दशकौँदेखि लाखौँ अफगान शरणार्थीलाई आश्रय दिँदै आएका पाकिस्तान र इरानले पछिल्लो समय कागजातविहीन विदेशी नागरिकलाई आफ्नो भूभाग छाड्न आग्रह गर्दै आएका छन् ।
यसअघि अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले गत महिना ७६ हजार १८१ अफगान शरणार्थी स्वदेश फर्किएको जानकारी दिएको थिए । उनका अनुसार स्वदेश फिर्ती प्रक्रिया निरन्तर जारी छ ।
अफगान अधिकारीहरूका अनुसार सन् २०२१ को अगस्टमा वर्तमान सरकार सत्तामा आएयता ८० लाखभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किसकेका छन् ।रासस
प्रकाशित समय : १६:५६ बजे



















