गृहपृष्ठ भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु
भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु
भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा भारी वर्षापछि फोहोरको थुप्रो खस्दा नौ जना कामदारको मृत्यु भएको छ । केन्द्रका सञ्चालकले सोमबार जारी गरेको विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिएका हुन् ।
भारतमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुन अवधिमा भारी वर्षाका कारण भवन तथा पूर्वाधारसम्बन्धी दुर्घटनाहरू हुने गरेका छन् । लामो समयको वर्षाले कमजोर संरचना भत्किने वा पहिरो जाने जोखिम बढाउने गर्छ ।
गत बुधबार पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको हो । नजिकै रहेको ल्यान्डफिल ९फोहोर विसर्जन स्थल० बाट हजारौँ टन फोहोर खस्दा प्रशासनिक भवनमा रहेका २३ जना व्यक्ति पुरिएका थिए ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा निरन्तरको वर्षाका कारण ल्यान्डफिल अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको उल्लेख गरिएको छ ।
घटनामा नौ जनाको मृत्यु भएको र १४ जनालाई जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ ।
उद्धार टोलीले वर्षाका कारण कठिन परिस्थितिमा काम गर्नुपरेको र भग्नावशेषमुनि फसेकाहरूको उद्धारमा चुनौती भएको अधिकारीले बताएका छन् ।
संरचनागत तथा सुरक्षासम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको सञ्चालन अस्थायी रूपमा रोकिएको छ ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भारतमा अतिवृष्टि, गर्मी तथा अन्य चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको छ । मौसमविद्हरूले यस वर्ष सम्भावित शक्तिशाली ‘एल निनो’ मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने बताएका छन् ।रासस
प्रकाशित समय : १५:०९ बजे


















