global ime bank Long Banner Ad

गृहपृष्ठ महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत । तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका लागि सामान्य उपचारसमेत सहज थिएन । अपाङ्गता भएकी उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिइन् । बिहान–बेलुकाको छाक टार्नै कठिन हुने आर्थिक अवस्थाका कारण नियमित स्वास्थ्य परीक्षण र औषधि खरिद गर्नु उनका लागि असम्भव जस्तै थियो ।

वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि ‘अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालनमा ल्याएपछि उनको जीवनमा सकारात्मक परिवर्तन आएको छ । नगरपालिकाले परिवारका पाँच सदस्यको स्वास्थ्य बिमा गरिदिएपछि उनी अहिले निर्धक्क भएर नियमित स्वास्थ्य परीक्षण गराउँछिन् र आवश्यक औषधि पनि सहजै पाउँछिन् ।

मन्धरीले भनिन् “पहिले नियमित जाँच गराएर औषधि ल्याउने पैसाको जहिले पनि अभाव हुन्थ्यो, नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएपछि उपचार गर्न धेरै सहज भएको छ ।”

नगरपालिकाले सुरु गरेको यो कार्यक्रमबाट अति विपन्न र गरीबलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । नगरपालिकाका अनुसार यो कार्यक्रमबाट ३० जनाभन्दा धेरै विपन्नले लाभ लिएका छन् । बिमा गर्दा सुरुमा लाग्ने रु तीन हजार ५०० नगरपालिकाले नै तिरिदिन्छ ।

नगरपालिका प्रमुख मोहनमाया ढकालले नगरभित्रका महिला, बालबालिका, विपन्न, सीमान्तकृतलगायतका नागरिकको स्वास्थ्य, शिक्षा र सहज सेवालाई प्राथमिकतामा राखिएको बताइन्। नगरपालिकाले विपन्न, ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि निःशुल्क स्वास्थ्य बिमा, ज्येष्ठ नागरिक तथा गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनलगायतका कार्यक्रम सुरु गरेको छ ।

नगरपालिकाको कार्यक्रमले वीरेन्द्रनगर नगरपालिका–५ कालिका मन्दिरकी ३३ वर्षीया लक्ष्मी नेपालीलाई पनि निकै सहज भएको छ । आर्थिक अवस्था कमजोर भएकी नेपालीले नगरपालिकाले सञ्चालन गरेको महिला स्वरोजगार कार्यक्रमअन्तर्गत अटो रिक्सा चलाउने तालिम दिएपछि अहिले उनको जीवन फेरिएको छ । पहिले घरको काममै बित्ने उहाँको दैनिक अहिले अटोको धपेडीमा बित्न थालेको छ ।

लक्ष्मी अहिले श्रीमान्सँगै अटोरिक्सा चलाएर दैनिक रु तीन हजारभन्दा बढीको कारोबार गरछन । उनि भनछिन, “सबै खर्च कटाएर दैनिक एक हजार त बचत गर्छु, आफँैले कमाउन थालेपछि आत्मविश्वास बढेको छ ।”

वीरेन्द्रनगर नगरपालिकाले चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने उद्देश्यले छ वर्षअघि यो कार्यक्रम ल्याएको थियो ।

‘समृद्ध वीरेन्द्रनगरको आधार ः एक घर एक महिला रोजगार’ कार्यक्रमअन्तर्गत महिलालाई स्वरोजगार बनाउनका लागि व्यवसायका आधारमा ५० प्रतिशतविना ब्याजको ऋण र ५० प्रतिशत अनुदान दिने गरिएको छ । नगरपालिकाले अनुदानमा तालिम लिएका महिलामध्ये हाल ३६ जना महिलाले अटो चलाइरहेका छन् । महिला स्वरोजगार कार्यक्रमअन्तर्गत धेरै महिला विभिन्न रोजगारमूलक काममा आवद्ध भएको प्रमुख ढकालले जानकारी दिए ।

कार्यक्रमबाट लाभान्वित हुनेमा वीरेन्द्रनगर–२ की ४५ वर्षीया सीता गौतम पनि हुन । उनि चार वर्षदेखि कृषि पेसामा आबद्ध हुनुहुन्छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ टनेल उपलब्ध गराएपछि उहाँ यसमा जोडिएको हुन् । नगरपालिकाले बोरिङ पनि दिएपछि खानेपानी र सिँचाइ गर्न सजिलो भएको उहाँको भनाइ छ । उनले भनिन “अहिले तरकारीखेतीबाट वार्षिक रुपमा दुईदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ ।”

नगरपालिकाका प्रमुख ढकालले ‘छोरी हुनुमा गर्व गर’ भन्ने नारासहित बालविवाह, बहुविवाह, बालश्रम मुक्त नगर जस्ता अभियान सञ्चालनमा ल्याएको हो । हाल नगरपालिकामा महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार, मेयरसँग महिला किसानलगायत दर्जनभन्दा बढी महिलासम्बन्धी कार्यक्रम सञ्चालनमा छन् ।

छोरी बचत खाताअन्तर्गत वीरेन्द्रनगरमा जन्मिएका एक हजारभन्दा बढी छोरीहरुको बैंक खाता खोलिएको छ । साथै गर्भवती तथा सुत्केरीको स्वास्थ्य सुरक्षाका लागि ‘हेलो गर्भवती आमा’ कार्यक्रम सञ्चालन भइरहेको छ । जसअन्तर्गत दक्ष स्वास्थ्यकर्मीहरूले फोनमार्फत परामर्श, स्वास्थ्य सल्लाह र सुत्केरी पूर्व÷पछिको जानकारी घरमै उपलब्ध गराउँछन् ।

महिलाका लागि निःशुल्क स्यानिटरी प्याड, गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क भिडियो एक्सरे कार्यक्रम पनि सञ्चालन गरिएको छ । यी कार्यक्रम एकदमै प्रभावकारी भएको प्रमख ढकालको भनाइ छ ।

साथै नगरपालिकाले पाँच शय्याको महिला तथा बालबालिका नगर अस्पताल सञ्चालन गरेको छ । उक्त अस्पताल कर्णाली प्रदेशमै मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी सेवा प्रदान गर्न अतिसहज र उपयोगी भइरहेको स्थानीयको भनाइ छ ।

नगरमा सुधारको सुरुवात

वीरेन्द्रनगरको नेतृत्वमा आफू आएपछि नगर सुधारका लागि धेरै कामको सुरुवात गरेको ढकाल बताउनुहुन्छ । वीरेन्द्रनगरलाई ‘शैक्षिक हब’ को रूपमा विकास गर्न नगरपालिकाले १० वर्षे शैक्षिक रणनीति तयार पारेको छ ।

विसं २०९० सम्म प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्ने गरी शैक्षिक सुधार गरिने उहाँको भनाइ छ । उहाँका अनुसार पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालय सबलीकरण, अनौपचारिक शिक्षा, दूर शिक्षा तथा खुल्ला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचनाप्रविधि र समावेशी शिक्षालाई उक्त शिक्षा मोडेलले जोड्नेछ ।

‘उज्यालो र सुरक्षित वीरेन्द्रनगर’ अभियान अन्तर्गत चोक र मुख्य सडकमा हाई मास लाइट र सिसीटिभी क्यामेरा जडान भएका छन् । नगरपालिकाले मुख्यबजारमा फुटपाथ खाली गराएको छ । सार्वजनिक जग्गाको संरक्षणमा कडाइका साथ लागेको उनि बताउछिइन। वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न अघि सारिएको भेरी लिफ्ट खानेपानी आयोजनाको अहिले धमाधम काम भएको छ ।
यी योजना सम्पन्न भए वीरेन्द्रनगरवासीले भोगिरहेको खानेपानी सङ्कटको समस्या समाधान हुने भन्दै उहनले आगामी ५० वर्षसम्म पानीको अभाव झेल्न नपर्ने बताइन । बढ्दै गएको सहरीकरणका कारण नगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ ।

प्रमुख ढकालका अनुसार नगरपालिकाको फोहोरमैला दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल साइट निर्माण गरिएको छ भने फोहरबाट मोहोर कार्यक्रम सञ्चालनमा छ । वीरेन्द्रनगर वातावरण र दिगो व्यवस्थापनमा देशकै उत्कृष्ट पालिकाको रूपमा तीन वर्ष अघि नगरपालिका महासंघबाट पुरस्कृत भएको थियो । फोहोर व्यवस्थापनबाट वार्षिक रु ३० लाख राजस्व सङ्कलन हुने गरेको छ ।

ठूला योजनामा भएन काम

नगरप्रमुख ढकालको नेतृत्वले नगरलाई समृद्ध बनाउनका लागि विभिन्न योजना अगाडि सारेपनि कार्यान्वयनमा अझै समस्या देखिएको स्थानीयको गुनासो छ । वीरेन्द्रनगर–१ का लोकबहादुर गुरुङले नगरभित्रको फोहर व्यवस्थापन नहुँदा सबैभन्दा ठूलो समस्या आफ्नो समुदायले भोगेको बताइन ।

“अहिलेसम्म ल्याण्डफिल साइट बनेको छैन, फोहरको दुर्गन्धले घरमा बस्न नसक्ने अवस्था छ, स्वास्थ्यमा समस्या देखिन थालेको छ”, उहाँले भन्नुभयो । लामो समयदेखि फोहर व्यवस्थापन गर्छौैँ भनी प्रतिबद्धता जनाए पनि काम भने नगरेको गुरुङको गुनासो छ ।

फोहर व्यवस्थापन हुन नसक्नुको समस्या ढल निकास प्रणाली पनि हो । वर्षायाममा निकास नहुँदा वीरेन्द्रनगरको तल्लो क्षेत्रका बस्ती डुबानमा पर्ने गरेका छन् ।

स्थानीय सुरेन्द्र कार्कीले सडक तथा सहरी पूर्वाधारतर्फ पनि उल्लेखनीय सुधार नभएको गुनासो गरे । “भित्री सडकको अवस्था नाजुक छ, बजार क्षेत्रमा पार्किङ व्यवस्थापन स्पष्ट नहुँदा जाम बढ्दो छ भने सहरी सौन्दर्यकरणका काम पनि अधुरै छन्”, उनले भनिन् ।

नगरवासीले वर्षौँदेखि भोग्दै आएको मुख्य समस्या खानेपानीको अभाव हो । नगरपालिकाले भेरी नदीको पानी पम्पिङ गरी वीरेन्द्रनगर उपत्यकामा ल्याउने योजना अघि सारेको करिब एक दशकपछि अहिले निर्माण कार्य सुरु भएको छ । तर, बढ्दो जनसङ्ख्याका कारण विशेषगरी खडेरीको समयमा नगर क्षेत्रमा खानेपानीको समस्या झन् चर्किने गरेको छ ।

वीरेन्द्रनगर–७ की इन्दिरा केसीका अनुसार नगरका कतिपय वडामा अझै नियमित रूपमा खानेपानी उपलब्ध हुँदैन । पर्याप्त पानी नआउँदा ट्याङ्करको भर पर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

नगरपालिकाले योजना घोषणा गरे पनि तिनको स्पष्ट प्राथमिकता, समय सीमा र कार्यान्वयनको ठोस ढाँचा नहुँदा अपेक्षित परिणाम हासिल हुन नसकेको नगरवासीको गुनासो छ ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु