गृहपृष्ठ डिजिटल बैंकिङमा नयाँ आयाम: महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब उद्घाटन
डिजिटल बैंकिङमा नयाँ आयाम: महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब उद्घाटन
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित कफी लाउञ्जसहितको डिजिटल हबको औपचारिक उद्घाटन गरेको छ। बैंकले डिजिटल बैंकिङ सेवालाई थप आधुनिक, सुरक्षित, प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउने उद्देश्यका साथ उक्त हब सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले एक विशेष समारोहबीच डिजिटल हबको उद्घाटन गरेका हुन्। कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकका अनुसार डिजिटल हबमा ग्राहकले सहज, आरामदायी र आधुनिक वातावरणमा बैंकिङ सेवा लिन सक्नेछन्। यहाँ नगद जम्मा तथा झिक्ने, चेक क्लियरिङ गर्ने, विभिन्न डिजिटल कारोबार सम्पन्न गर्ने लगायतका सेवाका साथै कफी लाउञ्जको सुविधा पनि उपलब्ध हुनेछ। यस अवधारणाले बैंकिङ सेवालाई अझ सहज र अनुभवमुखी बनाउने विश्वास बैंकले लिएको छ।
युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्ने तथा ग्राहकसँगको पहुँच विस्तार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको उक्त डिजिटल हबमार्फत डिजिटल बैंकिङसम्बन्धी परामर्श सेवा पनि प्रदान गरिने बैंकले जनाएको छ। यसले ग्राहकका लागि सिकाइ र डिजिटल अनुभवको केन्द्रका रूपमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकको नियामकीय स्यान्डबक्स (Regulatory Sandbox) अवधारणालाई समेत आत्मसात गर्दै भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र ग्राहककेन्द्रित आधुनिक सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
प्रकाशित समय : २०:४३ बजे



















