गृहपृष्ठ इन्फिनिटी लघुवित्तको दुर्गम क्षेत्रमा शैक्षिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
इन्फिनिटी लघुवित्तको दुर्गम क्षेत्रमा शैक्षिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा र कालिकोटमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अनुसार रुकुम पूर्वको तकसेरा, रुकुम पश्चिमको पेदीबजार र रोल्पाको बाघमारा शाखामार्फत सञ्चालित कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका करिब ५०० विद्यार्थीलाई कापी, कलमलगायत शैक्षिक सामग्री वितरण गरिएको हो। विद्यार्थीको पठनपाठनलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
त्यसैगरी, कालिकोटको पलाँता शाखाले स्थानीय तहसँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा बचतको महत्त्व, जिम्मेवार कर्जा उपयोग, वित्तीय अनुशासन तथा औपचारिक वित्तीय सेवाको पहुँच र प्रयोगबारे जानकारी दिइएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रति प्रेरणा बढाउनुका साथै समुदायमा जिम्मेवार वित्तीय व्यवहार विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।
इन्फिनिटी लघुवित्तले शिक्षा, वित्तीय समावेशीकरण र समुदायको दिगो विकासलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको प्राथमिकतामा राख्दै आएको जनाएको छ। आगामी दिनमा पनि शिक्षा, सामाजिक उत्थान तथा वित्तीय पहुँच विस्तारमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।
प्रकाशित समय : २०:४९ बजे



















