गृहपृष्ठ दुग्ध क्षेत्रमा उद्यमशीलता विकास र पूर्वाधारमा लगानी आवश्यक : सरोकारवाला
दुग्ध क्षेत्रमा उद्यमशीलता विकास र पूर्वाधारमा लगानी आवश्यक : सरोकारवाला
धनगढी। दुग्ध उत्पादक किसानको आय वृद्धि र दूध उत्पादनबाट अधिकतम आर्थिक लाभ लिन सुदूरपश्चिममा उद्यमशीलता विकाससँगै आवश्यक पूर्वाधारमा लगानी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
प्रदेश दुग्ध विकास बोर्डले धनगढीमा आयोजना गरेको ‘दुग्धलाई स्थानीय बजारबाट औपचारिक क्षेत्रमा ल्याउन अभिमुखीकरण’ कार्यक्रममा सहभागीहरूले दूधको उत्पादनलाई मूल्य अभिवृद्धि हुने उद्योगसँग जोड्दै बजार विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले प्रदेश दूध उत्पादनमा आत्मनिर्भर भए पनि त्यसबाट अपेक्षित आर्थिक लाभ लिन नसकिएको बताए। दूधलाई व्यावसायिक रूपमा उपयोग गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
उनले दूधको आन्तरिक खपत बढाउनुका साथै निर्यात प्रवर्द्धन गर्न पाउडर दूध, चिज, छुर्पी, पनिरलगायत दुग्धजन्य वस्तुको उत्पादन विस्तार गर्नुपर्ने बताए। त्यसका लागि ठूलो लगानीमा पाउडर प्लान्ट स्थापना गरी निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनले उल्लेख गरे।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले सुदूरपश्चिममा दैनिक करिब १० लाख लिटर दूध उत्पादन हुने जानकारी दिँदै अधिकांश दूध घरायसी प्रयोजनमै खपत हुने बताए। उनले निर्वाहमुखी उत्पादनबाट व्यावसायिक तथा उद्यमशील कृषि प्रणालीतर्फ अघि बढ्न किसानलाई आग्रह गर्दै उत्पादन विविधीकरण, प्रविधि हस्तान्तरण र सीप विकासमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रदेश दुग्ध विकास बोर्डका सदस्य कर्णबहादुर हमालले प्रदेशमा आवश्यक पाउडर दूध अन्य प्रदेशबाट ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सुदूरपश्चिममै पाउडर प्लान्ट स्थापना गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा बोर्डका सदस्य भूपेन्द्र थापाले नेपालको दुग्ध क्षेत्रको अवस्था, चुनौती र सम्भावनाबारे प्रस्तुति दिएका थिए भने कार्यकारी निर्देशक श्यामसिंह खड्काले बोर्डको भूमिका तथा अभिमुखीकरण कार्यक्रमको औचित्यमाथि प्रकाश पारे।
खप्तड कृषि सहकारी संस्था कञ्चनपुरका अध्यक्ष पूर्णसिंह साउद, सुदूर सहकारी संस्थाका अध्यक्ष नरेन्द्रबहादुर चन्दलगायत वक्ताले दुग्ध उत्पादक किसान र डेरी उद्योगीले भोगिरहेका समस्या समाधानका लागि सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित समय : २१:०५ बजे



















