गृहपृष्ठ राष्ट्रिय टोलिमा आफ्नो भविष्यबारे हतारमा निर्णय गर्दिन : रोनाल्डो
राष्ट्रिय टोलिमा आफ्नो भविष्यबारे हतारमा निर्णय गर्दिन : रोनाल्डो
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तिम फिफा विश्वकप ट्रफीबिनै समाप्त भएकोमा दुःख व्यक्त गरेका छन् । यद्यपि उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे भने हतारमा कुनै निर्णय नगर्ने बताएका छन् ।
राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले आफूले देशका लागि सक्दो योगदान दिएको र कुनै पछुतो नरहेको बताए ।
‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःख लागेको छ । मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ । अन्तस्करण सफा छ, यो मेरो अन्तिम विश्वकप थियो । अब केही समय परिवारसँग बिताएर शान्त रूपमा भविष्यबारे सोच्नेछु । भावनामा बगेर कुनै निर्णय गर्नेछैन,‘ उनले भने ।
रोनाल्डोले आफू आवेगमा आएर निर्णय गर्ने व्यक्ति नभएको पनि स्पष्ट पारे । आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई स्मरण गर्दै उनले आफूअघि पोर्चुगलले कुनै ठूलो उपाधि जित्न नसकेको उल्लेख गरे । उनले नेतृत्व गरेको टोलीले सन् २०१६ मा युइएफए यरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो भने दुई पटक युइएफए नेशन्स लिगपनि जितेको थियो ।
‘मैले पोर्चुगलका लागि तीनवटा उपाधि जितेको छु । म फुटबलमा आउनु अघि पोर्चुगलले एउटा पनि उपाधि जितेको थिएन । मेरो लागि २०१६ को युरो जित्नु विश्वकप जित्नुजत्तिकै ठूलो उपलब्धि हो,‘ उनले भने । यता, पोर्चुगलका मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले भने टोली छाड्ने घोषणा गरेका छन् । रोनाल्डोले मार्टिनेजको प्रशंसा गर्दै उनी उत्कृष्ट प्रशिक्षक र असल व्यक्ति भएको बताए । ‘उनीसँग काम गर्न पाउँदा निकै खुसी लाग्यो । उनले पोर्चुगलका लागि गरेको योगदान प्रशंसायोग्य छ । उनको आगामी यात्राका लागि शुभकामना दिन चाहन्छु,‘ रोनाल्डोले भने ।
उनले विश्वकपबाट बाहिरिनु सधैं पीडादायी हुने उल्लेख गर्दै पोर्चुगलले प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको र खेलको नतिजा जुनसुकै टोलीको पक्षमा जान सक्ने अवस्था रहेको बताए । एएनआई
प्रकाशित समय : ०८:४६ बजे

















