global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्रको तयारी पूरा

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्रको तयारी पूरा

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्रको तयारी पूरा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज हुने भएको छ। बन्दसत्रका लागि बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिएको छ। सोमबार बिहान ८ः३० बजे सुरु गर्ने तय भएको बन्दसत्र प्राविधिक कारणले एक दिन पछि सरेको हो।

पार्टीका प्रवक्ता मनिष झाले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु गरिने जानकारी दिए। उनले प्रदेशबाट प्राप्त महाधिवेशन प्रतिनिधिको नामावली रुजु गर्ने र परिचयपत्र छपाइको काम पूरा हुन नसकेकाले बन्दसत्र एक दिन पछि सारिएको बताए।

महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रक्रियामा कुनै विवाद नआओस् भन्नेमा पार्टी सचेत रहेको जनाउँदै उनले केही ढिलाइ भए पनि समस्या नआउने गरी काम गरिएको उल्लेख गरे। उनले सोमबार साँझ ७ बजेदेखि नै कार्ड वितरण सुरु गरिएको जानकारी दिए। राति छापिएका परिचयपत्र प्रदेशमार्फत मंगलबार बिहानदेखि वितरण थालिएको छ। सातै प्रदेश तथा समायोजन र प्रवास समूहका प्रतिनिधिका कार्ड छुट्टाछुट्टै स्थानबाट वितरण गरिने जनाइएको छ।

कार्ड वितरण सम्पन्न भएपछि पूर्वनिर्धारित कार्यतालिकाअनुसार बन्दसत्र सञ्चालन गरिने पार्टीले जनाएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुआत अनुशासन आयोगका रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गरेर हुनेछ। प्रतिवेदनमाथि छलफल गरिनेछ।

त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछिन् र त्यसमाथि छलफल हुनेछ। आर्थिक प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेस गर्नेछन्। उक्त प्रतिवेदनमाथि पनि प्रतिनिधिहरूबीच छलफल हुने कार्यसूची रहेको छ।

त्यसपश्चात् सहमहामन्त्रीले पार्टी विधानमाथि छलफल गराउने र अनुमोदन प्रक्रिया अघि बढाउने कार्यक्रम छ। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि छलफल र अनुमोदन गरिनेछ।

महाधिवेशनको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने सम्भावित कार्यतालिका रहेको छ। त्यसपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ। निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी तथा निर्वाचन तालिका सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।

प्रकाशित समय : ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु