गृहपृष्ठ मौवाफाँट–दग्नाम सडक स्तरोन्नति, आवतजावत सहज
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति, आवतजावत सहज
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पक्की सडक निर्माण भएको छ। गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा–चिमखोला–घ्याँसीखर्क जोड्ने सडकअन्तर्गत औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर सडक पक्की बनाइएको हो।
वडाध्यक्ष पविन गर्बुजाले यसअघि कच्ची अवस्थामा रहेको तथा ग्रेड र घुम्ती नमिलेको सडकलाई फराकिलो बनाउँदै नाली, पर्खाल तथा ढलानको काम सम्पन्न गरिएको जानकारी दिए।
उनका अनुसार दग्नाममा विसं २०७४ मा सडक पुगेपछि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट हालसम्मकै बढी रु तीन करोड बजेट विनियोजन भएको थियो। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कास्कीमार्फत ठेक्का प्रक्रियाबाट योजना सम्पन्न भएपछि आवतजावत सहज र सुरक्षित बनेको उनले बताए।
सडक स्तरोन्नतिबाट दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्कका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन्। योजनाअन्तर्गत अप्ठ्यारो स्थानमा सडक फराकिलो पार्ने, पर्खाल तथा नाली निर्माण, ग्रेड र मोड सुधार तथा ढलानको काम गरिएको छ।
योजना निर्माणका लागि गत माघ १४ गते दुप्चेश्वर सुभम् विल्डर्ससँग रु दुई करोड ३९ लाख ९९ हजार चार सय १३ मा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले असार २० गतेसम्म म्याद रहे पनि जेठ २६ गते नै योजना सम्पन्न गरिएको जानकारी दिए।
उनले इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद जिम्मेवारी समयअघि नै पूरा गरिएको बताए। उनका अनुसार औरी, दवाङभिरमुनि र दग्नाम गाउँभित्र गरी करिब ९०० मिटर सडक ढलान गरिएको छ।
दग्नाम गाउँभित्रका मुख्य सडकहरू पक्की बनेपछि गाउँको स्वरूप आकर्षक देखिएको छ। स्थानीय धनीलाल गर्बुजाले धुलो र हिलोको समस्या हट्नुका साथै यात्रा सहज र सुरक्षित बनेको बताए। दग्नाम खोलामा कजवे निर्माण गरिएको छ भने तीन स्थानका खोल्सामा ह्युम पाइप जडान गरिएको छ।
मौवाफाँट–दग्नाम–चिमखोला–घ्याँसीखर्क सडकको मौवाफाँट, बुग्ल, दग्नाम पहिरो तथा चिमखोला क्षेत्रमा गत वर्ष दुईवर्षे योजनामार्फत स्तरोन्नतिको काम सम्पन्न गरिएको थियो। रघुगङ्गा गाउँपालिकाका तीन वटा वडालाई जोड्ने यो सडक जिल्लाको प्राथमिकताप्राप्त आयोजनामध्ये एक मानिन्छ।
प्रकाशित समय : ०८:०७ बजे



















