global ime bank Long Banner Ad

गृहपृष्ठ सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

काठमाडौं । हिन्दु धर्ममा मुसालाई गणेशको वाहन मानिन्छ र पूजा गर्ने परम्परा छ । यता, मानिसहरु घरमा ध्वंस मच्चाउने मुसा नियन्त्रण गर्न तथा मार्नका लागि अनेक विधि अपनाउँछन् ।

तर ललितपुर पाटनको सौगल गणेश मन्दिरमा नौलो दृश्य देख्न पाइन्छ । मन्दिरको मुख्यस्थानमै शिर झुकाएर पूजा गरिरहेका भक्तालुहरु गणेशको प्रतिमामा दौडिरहेका मुसा देखेर दंग पर्ने गरेका छन् । जसले स्थानीय भक्तजन र दर्शनार्थीहरूबीच विशेष चासो र कौतुहल पैदा गरेको छ ।

भगवान् गणेशको वाहन (वाण) मुसा गणेशकै मन्दिरमा देखिनुलाई आश्चर्यपनि मान्ने गरेका छन् । मुसा देखिनुलाई सामान्यतया धार्मिक दृष्टिले पनि शुभ मानिने प्रचलन रहेको धर्म संस्कृतिका अध्येता कृष्णदेव रुपाखेतीको भनाइ छ ।

त्यसमाथि सौगलमा देखिएको सेतो रङको मुसा दुर्लभ हुनसक्ने रुपाखेतीले बताए । स्थानीय भक्तजन र दर्शनार्थीहरूले मन्दिरमा धेरै वर्ष अगाडिदेखि नै मुसा देखिन थालेको र आफूहरुले पूजा गर्ने गरेको बताएका छन् ।

सामान्यतया हिन्दु मन्दिरहरुमा सम्बन्धित भगवानका वाणहरुको पूजा गर्ने प्रचलन रहेकाले स्थानीयबासी एवम मन्दिर व्यवस्थापन समितिले संरक्षण गरेको हुनसक्ने रुपाखेतीले अनुमान लगाए ।

सोही क्रममा पाटनको उक्त गणेश मन्दिरमा पनि सेतो मुसाको पूजा तथा संरक्षण गरिएको उनले जानकारी दिए ।

उनले भने,‘सामान्यतया हिन्दु मन्दिरहरुमा सम्बन्धित भगवानका वाणहरुको पूजा गर्ने प्रचलन छ । यसैक्रममा मुसाको पूजा तथा संरक्षण गरिएको हुनसक्छ । शिवको मन्दिरमा हामीले साँढे देख्छौं त्यसरी नै गणेशको मन्दिरमा मुसा देखिनु अनौठो होइन् । सेतो मुसालाई शुभ पनि मानिन्छ ।’

सेतो मुसा निकै दुर्लभ पनि मानिन्छ। यसलाई अलौकिक, चमत्कारिक र भाग्यको प्रतीकका रूपमा हेरिन्छ । मन्दिर परिसरमा सेतो मुसा वा सामान्य मुसालाई पनि विघ्नहर्ता गणेशको दूत वा स्वरूप मानिने हुनाले स्थानीय भक्तजनहरूले तिनलाई सम्मान गर्ने र पूजा अर्चनासमेत गर्ने गरेका छन् ।

सौगल गणेश मन्दिर पाटन क्षेत्रको ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण धार्मिक स्थल हो। यहाँ वर्षभरि भक्तजनको भीड लाग्ने गर्छ। यस्तो अवस्थामा मन्दिर परिसरमा देखिएको सेतो मुसाले धार्मिक आस्था र लोकविश्वाससँग जोडिएको चर्चा थप बढाएको छ ।

प्रकाशित समय : ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु