global ime bank Long Banner Ad

गृहपृष्ठ आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती

आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती

आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती

झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित ‘मानव सेवा आश्रम’को झापा शाखा आफन्तको साथ टुटेर सडकमा पुगेका ४० भन्दा बढी असहायका लागि दर्बिलो आश्रयस्थल बनेको छ । स्थानीय रामबहादुर प्रधान र उनकी दुई पत्नी सोही आश्रममा बस्छन् ।

दुई बिघा पाँच कट्ठा क्षेत्रफलमा फैलिएको आश्रम डेढ वर्षअघि उद्घाटन भएको हो । दानबाट बनेको आश्रममा असहायका लागि सुविधाजनक आवास गृह छ । त्यहाँ १९ वर्षका युवादेखि ९९ वर्षसम्म पाकासम्मले आश्रय पाएका छन् ।

आश्रमका लागि १० करोडभन्दा बढी मूल्य पर्ने दुई बिघा पाँच कट्ठा जग्गा रामबहादुर प्रधान, उनकी पत्नी लक्ष्मी र पूर्णमायाले दान गरेका हुन् । दाता दम्पतीका सन्तान छैनन् । प्रधान दम्पतीले आफ्नो नाममा अलिकति सम्पत्तिसमेत बाँकी नराखी आश्रमलाई सर्वस्व दान गरेका हुन् । जग्गा र घर दुवै दान गरेर आफू आश्रममै बस्न सहमत हुने प्रधान दम्पतीजस्तो दाताको उदाहरण अन्यत्र पाउन मुस्किल हुने आश्रमका अभिभावक एवं साबिक बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारी बताउँछन् ।

दानवीर रामबहादुर अहिले ८२ वर्षको भए भने उनका पत्नीहरू लक्ष्मी ७८ वर्ष र पूर्णमाया ६१ वर्षको छन् । आश्रम परिसरकै एउटा छेउमा प्रधान दम्पतीका लागि टिनको छानो, इँटाको गारो, बिजुली र खानेपानीको सुविधा भएको भुइँतले एउटा सानो घर आश्रमले निर्माण गरिदिएको छ । दाता दम्पतीको आजीवन भरण पोषणको दायित्व आश्रमले लिएको मानव सेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले बताए। अभिभावकका रूपमा प्रधान दम्पतीलाई आश्रमले संरक्षण, औषधोपचार र हेरचाह गर्दै आएको छ ।

विसं २०३२ मा दोलखा जिल्लाबाट प्रधान परिवार झापाको मेचीनगर–४ बाहुनडाँगीमा बसाइँ सर्ने क्रममा यहाँ आइपुगेको हो । दुई बिघा पाँच कट्ठा जग्गा खरिद गरेर रामबहादुरले घर बनाएका थिए । दुवै पत्नीबाट सन्तान नभएपछि पारिवारिक सहमतिमा सबै जग्गा र घर मानव सेवा आश्रमलाई दान दिएको दाता रामबहादुर प्रधानले बताए ।

सन्तान नभएपछि रामबहादुर र उहाँका दुवै पत्नीलाई बुढेसकालमा कसले रेखदेख गर्ला र यत्रो सम्पत्ति कसले संरक्षण गर्ला भन्ने चिन्ताले सताउन थालेको बेला स्थानीय व्यवसायी मोहन कटुवालले दाता खोजिरहेको मानव सेवा आश्रमका प्रतिनिधिसँग भेट गराइदिएका थिए । मानव सेवा आश्रमको उद्देश्य राम्रो लागेपछि प्रधान दम्पती सर्वस्व दान गर्न सहमत भएका थिए ।

“सन्तान नभएर के भयो र रु” जग्गादाता रामबहादुर प्रधान भन्छन्, “घरबारविहीन भएर अलपत्र परेका थुप्रै सन्तानका बीचमा हाँसीखुसी रमाउन पाइरहेका छौँ । आखिर यही आश्रमले हामीलाई आनन्दपूर्वक पालिरहेको छ । भएको सबै सम्पत्ति आश्रमलाई दिनुपर्दा कुनै दुःख छैन ।”

प्रकाशित समय : ०६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु