गृहपृष्ठ बागलुङको दुर्गम फोर्सागाउँमा पुग्यो सडक
बागलुङको दुर्गम फोर्सागाउँमा पुग्यो सडक
गलकोट (बागलुङ) । बागलुङको दुर्गम मानिने फोर्सा गाउँमा मोटरेबल सडक पुगेको छ । बडिगाड गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा रु तीन करोडभन्दा बढी खर्चेर पुरानो गाउँदेखि फोर्सा गाउँमा सवारी गुड्न मिल्ने गरी पहिलो पटक सडकको पहुँच पुगेको हो ।
फोर्सामा करिब २०० घरधुरी छन् । बडिगाड गाउँपालिका–८ फोर्सा स्थित पुरानोगाउँ–फोर्सा भेडिखोरलाई सडकको पहुँचमा ल्याइएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए। “फोर्स गाउँमा पहिलोपटक मोटर लगेर सडकको उद्घाटन गरिएको छ, सडकले ग्रामीण जीवनलाई विकाससँग जोडेको छ”, अधिकारीले भने “मध्यपहाडी लोकमार्गसँग जोडिएको गाउँपालिकाका एउटै वडामा पुग्न एक दिनसम्म लाग्ने गरेको छ, उक्त सडकलाई स्तरीय बनाउने योजना गाउँपालिकाको छ ।”
पुरानोगाउँसम्म पहिलेनै सडक पुगेकोमा त्यहाँबाट पाँच किमी सडक चट्टान काटेर फोर्सा भेडीखोरमा सडक पु¥याइएको हो । गाउँपालिका अध्यक्ष अधिकारीले प्रदेश सरकारको रु एक करोड ५० लाख र गाउँपालिकाको रु एक करोड ७५ लाख गरी कूल रु तीन करोड २५ लाख बजेटबाट सडक निर्माण सम्पन्न गरिएको जानकारी दिए ।
बजेट अपुग भए पनि गाउँपालिकाको डोजर सञ्चालन गरी सडक निर्माणलाई टुङ्गोमा पु¥याइएको हो । यसअघि फोर्सा गाउँका नागरिकलाई मोटरेबल सडकसम्म पुग्न तीन घण्टा पैदल हिँड्नु पर्दथ्यो ।
अध्यक्ष अधिकारीले फोर्सा जाने सडकलाई राष्ट्रिय सडक सञ्जालमा समावेश भएपछि स्थानीयलाई समेत सहज भएको छ । भीमगिठेबाट सडकलाई थप स्तरोन्नति अघि बढेको बताउनुभयो । यस्तै बडिगाड–७ को वडा कार्यालयसम्म सडक स्तरोन्नतिको काम हुने र त्यसपछि पुनः वडा ८ नम्बर हुँदै भेठडीखोर जाने सडक बाह्रैमास चल्ने बनाउने बताए ।
गाउँपालिका उपाध्यक्ष भीमसेन वनका अनुसार भीमगिठे–टुनीबोट–पुरानोगाउँ–फोर्सा–भेडीखोर–खोलाखर्क हुँदै रमुवासम्मको सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरिएको बताए । उनले आगामी आर्थिक वर्षमा यस सडकमा थप रु एक करोडको काम भएर रिङ्गरोडको रुपमा विकास गरिने छ ।
प्रकाशित समय : ११:५५ बजे



















