गृहपृष्ठ विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
काठमाडौँ । काठमाडौँको नक्सालमा आजदेखि विपद् व्यवस्थापनसम्बन्धी सन्देश बोकेका कार्टुन कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकपा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कार्टुनिष्ट क्लब अफ नेपालको सहकार्यमा आजदेखि यहाँ कार्टुन कला प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमखु प्रदीपकुमार कोइरालाले जुनसुकै काम गर्दा पहिले विपद् बुझ्नुपर्नेमा जोड दिँदै कार्टुनमार्फत विपद्सम्बन्धी सन्देश प्रस्तुत गर्दा सबैको मनमस्तिष्कमा बस्ने बताए । उनले स्कुल तहदेखि कलामार्फत विद्यार्थीलाई विपद्का बारेमा जानकारीसहित पूर्वतयारीका विषयमा बुझाउँदै जानुपर्नेमा जोड दिए ।
उहाँले कार्टुन हेरेर मानिसले सजिलै बुझ्ने बतउँदै यसलाई अझै प्रभावकारी बनाएर लैजानुपर्ने उल्लेख गर्नुभयो । यसका लागि प्राधिकरण कलाकारसँग सहकार्यका लागि तयार रहेको उहाँले बताए ।
कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विपद् कुन बेलामा आउँछ भन्ने कसैलाई थाहा नहुने भएकाले पूर्वतयारी र पूर्वजानकारी दिनुपर्नेमा जोड दिँदै त्यसको उपयुक्त माध्यम कला भएको बताउनुभयो । उहाँले आगामी दिनमा प्रदेश तथा स्थानीय तहमा यस्ता कार्यक्रम लैजानुपर्नेमा जोड दिए ।
प्रतिष्ठानकी निवर्तमान प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारीले गत वर्षदेखि यो कार्यक्रम सुरु भएको जनाउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे । उनले यसपालिको प्रदर्शनीमा सबै गरेर ४६ वटा कार्टुन कला प्रदर्शनीमा राखिएका जानकारी दिए। उक्त प्रदर्शनी यही असार १० गतेसम्म जारी रहनेछ ।
प्रकाशित समय : १९:१२ बजे



















