गृहपृष्ठ हिमालयन लाइफको विशेष योजना, व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत विलम्ब शुल्क छुट
हिमालयन लाइफको विशेष योजना, व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत विलम्ब शुल्क छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनः सक्रिय बनाउन विशेष सहुलियत योजना सार्वजनिक गरेको छ। कम्पनीले बीमालेख नवीकरण गर्न छुटेका ग्राहकलाई लक्षित गर्दै विलम्ब शुल्कमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।
कम्पनीका अनुसार साविकका प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्समार्फत जारी भई हाल व्यतित अवस्थामा रहेका बीमालेख असार २ गतेदेखि असार १९ गतेभित्र पुनर्जागरण वा नवीकरण गराएमा लाग्ने ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट प्रदान गरिनेछ।
यो सुविधा व्यतित भएको अवधि जति लामो भए पनि लागू हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस योजनाले लामो समयदेखि निष्क्रिय रहेका बीमालेखलाई पुनः सञ्चालनमा ल्याउन तथा बीमितलाई आफ्नो बीमा सुरक्षा निरन्तर कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले उक्त छुट सुविधा बीमा अवधिभर एकपटक मात्र उपलब्ध हुने स्पष्ट पारेको छ। साथै, यस योजनाअन्तर्गत नवीकरण गरिएका बीमालेख पुनः सक्रिय भएको दुई वर्षभित्र समर्पण (सरेन्डर) गर्न आएमा छुटस्वरूप प्रदान गरिएको सम्पूर्ण ब्याज रकम कट्टा गरिने व्यवस्था गरिएको जनाएको छ।
हिमालयन लाइफले बीमितहरूलाई समयमै बीमालेख नवीकरण गरी आफ्नो बीमा सुरक्षा कायम राख्न आग्रह गरेको छ। कम्पनीका अनुसार यो योजना ग्राहकलाई आर्थिक राहत प्रदान गर्नुका साथै निष्क्रिय बीमालेख पुनः सञ्चालनमा ल्याउने उद्देश्यले ल्याइएको हो।
प्रकाशित समय : १५:५० बजे


















