global ime bank Long Banner Ad

गृहपृष्ठ कोशीमा लागूऔषधविरुद्धको अभियान : समातिए २२ जना कारोबारी

कोशीमा लागूऔषधविरुद्धको अभियान : समातिए २२ जना कारोबारी

कोशीमा लागूऔषधविरुद्धको अभियान : समातिए २२ जना कारोबारी

विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्ध सञ्चालन भइरहेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट २२ जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, ५०२ चक्की प्रतिबन्धित औषधि, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका जिल्ला प्रहरी कार्यालयबाट परिचालित टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

झापामा वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड–६ का देबेन्द्र विकलाई १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यस्तै दमक–३ का विकास भुजेल र भद्रपुर–७ की सरिता राजवंशीलाई ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३ का गणेशप्रसाद ओलीलाई ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने बिर्तामोड–४ का चाल्स लिम्बू र उमेश लिम्बूलाई ३ ग्राम ९०० मिलिग्राम गाँजासहित पक्राउ गरिएको छ।

यस्तै प्रहरी चौकी धरमपुरले शिवसताक्षी नगरपालिका–२ का वीरगञ्ज आङदम्बेलाई स्पारेक्स्ट १०० ट्याब्लेट र ट्रामाडोल १०० ट्याब्लेटसहित पक्राउ गरेको छ ।

सुनसरीमा कोशी प्रदेश प्रहरीको पीआईटी टोली तथा इलाका प्रहरी कार्यालय धरान, इटहरी र चतराले बराहक्षेत्र–१ का योगेश न्यौपानेलाई स्पास्मो २९० चक्की र कोरेक्स एक बोतलसहित पक्राउ गरेको छ । धरान–२० का विक्रम उदासलाई २ ग्राम २१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ ।

इटहरीबाट मोहन परियार, सुमन पासवान, दीपेश राना मगर तथा सक्षम केसीलाई २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान–१७ का प्रकाश राईलाई ६४ किलोग्राम गाँजासहित पक्राउ गरेको छ। साथै सप्तरीको कञ्चनरूप–९ का शिवनारायण महत्तोलाई नाइट्रोजन–१२ चक्की र प्रदीप यादवलाई १ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ। धरान रेल्वे क्षेत्रबाट भने बेवारिसे अवस्थामा ३२ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कोशी प्रदेश प्रहरीको पीआईटी टोली र इलाका प्रहरी कार्यालय रानीले कटहरी–३ का कमल रामलाई ५९० मिलिग्राम, दुहबी–८ का सन्दीप कार्कीलाई ४६० मिलिग्राम तथा पथरीशनिश्चरे–८ का शंकर माझीलाई ७२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरी चौकी कर्सियाले धनपालथान–४ का गोपाल सहनीलाई ८०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका सबैविरुद्ध सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु