विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा सुरु भएको छ । ‘डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि युवाहरूको साझा सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री रामप्रसाद महतो राष्ट्र निर्माण, सुशासन प्रवद्र्धन र डिजिटल रूपान्तरणमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै युवाहरूलाई सिर्जनशील, जिम्मेवार र नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गरे ।

समिटमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका युवा सामाजिक अभियन्ता, नीति निर्माता तथा सरोकारवालाको सहभागिता रहेको छ ।

युवालाई डिजिटल साक्षरता, नागरिक सहभागिता, नेतृत्व विकास, नवप्रवर्तन तथा डिजिटल नागरिक क्षेत्रको सुदृढीकरणका विषयमा सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

गैरसरकारी संस्था महासंघ नेपाल, यूवा अभियान नेपाल तथा सिभिकसको सहकार्य एवं यूरोपियन यूनियनको आर्थिक सहयोगमा आयोजित यस सम्मेलनले युवालाई आफ्नो अनुभव आदान–प्रदान गर्ने, नयाँ विचार प्रस्तुत गर्ने तथा डिजिटल युगका अवसर र चुनौतीबारे छलफल गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ ।

दुई दिनसम्म सञ्चालन हुने समिटमा विभिन्न विषयगत प्रस्तुति, अन्तरक्रिया, समूह छलफल तथा अनुभव आदान–प्रदानका कार्यक्रमहरू समावेश गरिएका छन् ।

यही जेष्ठ २८ र २९ गते सञ्चालन हुने दुईदिने सम्मेलनको उद्घाटनमा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यतामा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास राज्यमन्त्री शोभा पालुङगा चेम्जोङ, कोशी प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, गैर सरकारी संस्था महासंघ केन्द्रिय उप—महासचिव किरण थापा र युवा अभियानका महासचिव सुस्मिता यादवको विशेष उपस्थितिमा भएको हो ।