गृहपृष्ठ एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर
एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने समय आज सकिँदै छ। कम्पनीले जेठ २२ गतेदेखि बिक्री खुला गरेको आईपीओमा इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो। यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ जारी गरी बाँडफाँट गरिसकेको थियो।
निष्कासित सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी’ इस्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ। आवेदन अवधि समाप्त हुन लागेकाले इच्छुक लगानीकर्तालाई समयमै आवेदन दिन आग्रह गरिएको छ।
प्रकाशित समय : १०:३३ बजे



















