गृहपृष्ठ शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
कञ्चनपुर ।शुक्लाफाँटा नगरपालिकामा शनिबार साँझ सम्पन्न पालिकास्तरीय युवा सम्मेलनले जलवायु सङ्कटविरुद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।
चुरे विनाश, अस्वाभाविक गर्मी (लू) र बढ्दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुरसहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका सम्मेलनको निष्कर्ष छ ।
विश्व वातावरण दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाको समन्वय तथा निड्स नेपालको व्यवस्थापनमा आयोजित सम्मेलनका सहभागी युवाले जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
सहभागीहरूले जलवायु सङ्कट गम्भीर चुनौती बनेकामा चिन्ता व्यक्त गर्दै पर्यावरणीय सन्तुलन कायम राख्न बोटविरुवा हुर्काउने र बाँझो जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिएका छन् ।
नगरप्रमुख रणबहादुर महराले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी नभई समुदाय र विशेष गरी युवाको साझा दायित्व भएको बताए । उनले युवाहरूले सकारात्मक सोच, सामाजिक नेतृत्व र स्वयंसेवामार्फत वातावरणीय अभियानलाई जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए ।
नगरउपप्रमुख कल्पना पन्तले जलवायु परिवर्तनका कारण वर्षाको स्वरूप बदलिँदै गएको, अत्यधिक गर्मी बढ्दै गएको तथा चुरे क्षेत्रको क्षयीकरणले वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको बताइन । प्राकृतिक स्रोत संरक्षण र वातावरणमैत्री जीवनशैली अपनाउन नसके भविष्यमा पानी, कृषि उत्पादन र जैविक विविधतामा थप संकट उत्पन्न हुन सक्ने उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले विश्व वातावरण दिवसको सान्दर्भिकता, स्थानीय तहमा देखिएका वातावरणीय चुनौती तथा युवा जनशक्तिको भूमिकाबारे चर्चा गरे। उनले वातावरणीय असन्तुलनले मानव स्वास्थ्यमा असर पारिरहेको उल्लेख गर्दै स्वस्थ जीवनशैली, योग, मानसिक स्वास्थ्य र प्रकृतिसँगको सम्बन्धलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र भण्डारीले युवाको सहभागिता, नेतृत्व विकास र बढ्दो युवा पलायनका चुनौतीबारे धारणा राख्दै स्थानीय विकास, वातावरण संरक्षण र सामाजिक रूपान्तरणका क्षेत्रमा युवाहरूलाई अवसर सृजना गर्नुपर्ने बताए ।
वातावरण संरक्षणमा निरन्तर पैरवी गर्दै आएका केशवराज पन्तले जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, जैविक विविधताको संरक्षण र स्थानीय स्तरमा अपनाउन सकिने अनुकूलनका उपायबारे प्रस्तुति दिए । उनले वन, जलस्रोत र वन्यजन्तुको संरक्षणलाई जलवायु सङ्कट समाधानको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने उल्लेख गरे ।
वातावरण संरक्षणअभियन्ता सरस्वती पुरी बमले प्लास्टिकजन्य प्रदूषण वातावरणका लागि प्रमुख चुनौती बनेको बताउँदै यसको प्रयोग न्यूनीकरण, फोहरको उचित व्यवस्थापन र समुदायस्तरीय सरसफाइ अभियानमा युवाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे ।
सम्मेलनमा युवा अभियन्ता दुर्गा वडुवाल र विष्णुदत्त अवस्थीले युवा नेतृत्व, सहभागिता र सामाजिक जिम्मेवारीका विषयमा सहजीकरण गर्नुभएको थियो । सहभागी युवाहरूले वातावरण संरक्षण, सरसफाइ, जलवायु परिवर्तन न्यूनीकरण तथा समुदायस्तरमा सञ्चालन गर्न सकिने अभियानबारे समूहगत छलफलसमेत गरेका थिए ।
छलफलपछि जारी प्रतिबद्धतापत्रमा वातावरण तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने, एकपटक प्रयोग हुने प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गरी वातावरणमैत्री विकल्पलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।
घर, विद्यालय, कार्यस्थल तथा समुदायलाई सफा, स्वच्छ र स्वस्थ राख्न नियमित सरसफाइ अभियानमा सहभागी हुने, फोहरलाई स्रोतमै वर्गीकरण गरी पुनःप्रयोग, पुनःचक्रण (रिसाइकल) तथा उचित व्यवस्थापनलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।
युवाले वातावरण संरक्षण, सरसफाइ तथा जलवायु अनुकूलनसम्बन्धी जनचेतना अभिवृद्धिका लागि समुदायमा सक्रिय रूपमा सूचना र सन्देश प्रवाह गर्ने, वृक्षारोपण, हरियाली प्रवर्द्धन तथा जैविक विविधता संरक्षणका कार्यक्रममा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मानव र वन्यजन्तुबीचको सहअस्तित्व प्रवर्द्धन गर्दै वातावरणीय सन्तुलन कायम गर्न योगदान पु¥याउने, स्थानीय सरकार, विद्यालय, सामुदायिक संस्था तथा अन्य सरोकारवालासँग सहकार्य गरी वातावरण संरक्षणका अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
युवाले वातावरण संरक्षणलाई व्यक्तिगत तथा सामाजिक जिम्मेवारीका रूपमा ग्रहण गर्दै भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा योगदान पु¥याउने तथा सामाजिक कुरीति, कुसंस्कार तथा लागू पदार्थ दुव्र्यसनविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सम्मेलनमा नगरपालिकाका १२ वटै वडाका ७० जना युवासहित जनप्रतिनिधि, वातावरणविद्, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए । सम्मेलनले सन्तोष धामीको संयोजकत्वमा ११ सदस्यीय ‘जलवायु उत्थानशील युवा मञ्च’ तदर्थ समिति गठन गरेको छ ।
प्रकाशित समय : १०:१० बजे



















