गृहपृष्ठ ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेन्ट प्रा.लि. र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यलगायत सहअगुवाइ तथा सहभागी बैंकहरूका प्रतिनिधिहरूले हस्ताक्षर गरेको छ।
कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको सहअगुवाइ तथा कृषि विकास बैंक र नेपाल एसबिआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ।
जसमध्ये ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।
सम्झौतापश्चात् ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन क्षमतामा वृद्धि हुने तथा ऊर्जा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, उनले आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे।
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको यस जलविद्युत् आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ। सम्झौताअनुसार बैंकहरूले आयोजनाको ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट व्यवस्थापन गरिनेछ। आयोजना निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न विधामा सम्मानित हुँदै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४, २०२५ र २०२६’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३४४ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्य गर्दै आएको छ।
प्रकाशित समय : १६:४५ बजे


















