global ime bank Long Banner Ad

गृहपृष्ठ हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम स् सल्लेका ३१ घर मगर परिवार लाभान्वित

हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम स् सल्लेका ३१ घर मगर परिवार लाभान्वित

हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम स् सल्लेका ३१ घर मगर परिवार लाभान्वित

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन्। गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेका ३१ घर मगर परिवार लाभान्वित भएका हुन्।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने सल्लेमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको कुल लागत रु ५३ लाख रहेको जनाइएको छ। जसमध्ये गोर्खा वेलफेयर ट्रष्टले रु ४६ लाख तथा स्थानीय उपभोक्ताले रु सात लाख बराबरको श्रमदान तथा नगद सहभागिता जनाएको वडाध्यक्ष काशीराज राईले जानकारी दिए।

स्थानीय ठुलो पँधेरो मुहानबाट लिफ्टिङ प्रविधिमार्फत तानेर निकालिएको पानी वस्तीमा वितरण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सल्लेका ३१ घर स्थानीय मगर परिवारले अब आफ्नै घरआँगनमा स्वच्छ खानेपानी पाउन थालेका छन्।

लिफ्टिङ प्रविधिको खानेपानी योजना निर्माण सुरु गरेको ७२ दिनभित्र सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको गोर्खा वेलफेयर सोसाइटी धरानका सिनियर अफिसर केदार राईले जानकारी दिए । खानेपानी आयोजनाअन्तर्गत २६ घरमा निजी र दुईवटा सार्वजनिक धाराहरू जडान गरिएका छन्।

लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा आएपछि दैनिक उपभोगका लागि टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासीले बताएका छन् । गोर्खा वेलफेयर ट्रष्टले सोही गाउँका सामुदायिक विद्यालय र मगर समुदायका लागि सामुदायिक भवनसमेत निर्माण भएको छ।

नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन नगरपालिकाले सुरु गरेको ‘एक घर, एक धारा’ कार्यक्रममा स्थानीय सरकार र विकास साझेदार संस्थाहरूबीचको सहकार्यले थप टेवा पुगेको नगरप्रमुख विमला राईले बताइन्। “सल्लेका नागरिकका लागि खानेपानी ठुलो समस्या थियो ।

गोर्खा वेलफेयर ट्रष्टले स्थानीय सरकारसँग सहकार्य ३१ घर स्थानीयको घरघरमा स्वच्छ खानेपानी उपलब्ध गराएको छ”,उनले भनिन्, “नागरिकको जीवनस्तर सुधार गर्ने महत्त्वपूर्ण सामाजिक योगदानका रूपमा लिएका छौँ।”

नगरपालिकाको चौतर्फी विकासका लागि आगामी दिनमा पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक विकासका क्षेत्रमा साझेदार संस्थाहरूसँग निरन्तर सहकार्य गरिने नगरप्रमुख राईले जानकारी दिइन्।

खानेपानी योजना सञ्चालनकै लागि यो आर्थिक वर्ष वडा नम्बर २ डिकुवास्थित दाम्लीमा छ करोड १५ लाख बराबरको स्रोत सुनिश्चित भएको जनाइएको छ। दाम्लीका २०० घरधुरी स्थानीय उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले कादुरीसँगको सहकार्यमा योजना सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकामा रु एक करेड ३२ लाख लगानीको लोचाखोला मुहान, रु एक करोड चार लाख लगानीको सहरबोटे मुहान ३९ लाख लगानीको जुकेखेला महान तथा ३५ लाख लगानीको रातमाटे मुहान अन्तरगतका खानेपानी आयोजनाको काम तीव्रगतिमा भइरहेको नगर उपप्रमुख रमेशकुमार राउतले जानकारी दिए।

लोचाखोला मुहानबाट हलेसी र दुर्छिमका हजार घरधुरी, सहरबोटे मुहानबाट दुर्छिम, बडहरे र च्यस्मिटारका हजार घरधुरी, जुकेखेला महानबाट बाहुनीडाँडाका ६० घरधुरी तथा रातमाटे खानेपानी दुर्छिमका ३० घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउनेगरी नगरपालिकाले बजेट विनियोजन गरेको हो।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यो नगरपालिकाका चार हजार ८९७ घरधुरी उपभोक्तालाई दूधकोशी पानी पम्पिङ प्रविधिबाट तानेर घर–घरमा वितरण गर्न नौँ वर्षअघि ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम सुरु गरिएको थियो।

नेपाल सरकारको करिब रु ९६ करोड ४५ लाख चार हजार १३८ लागतमा वि।सं। २०७६ मङ्सिरमा सम्पन्न गर्नेगरी वि।सं। २०७४ सालबाट निर्माणको काम सुरु गरिएको खानेपानी आयोजना अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।

जिल्लाको दोस्रो ठुलो स्थानीय तह (एघार वडा रहेको) यो नगरपालिकाका अधिकांश ठाउँमा बसोवास गर्दै आएका स्थानीयले अहिले पनि बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन्। केही स्थानीयवासीले वर्षात्को समयमा आकाशबाट परेको पानी घर तथा गोठको छानाबाट झरेपछि जम्मा गरेर उपभोग गर्छन् भने, अधिकांशले दूधकोशी तथा स्थानीय खोलाबाट बोकेर ल्याएको उपभोग गर्छन्।

नजिकमा पर्ने खानेपानीका मुहान सुकेपछि घण्टौँ लगाएर खोला तथा दूधकोशीको पानी बोकेर ल्याउनुपर्ने बाध्यता सिर्जना भएका स्थानीयले बताएका छन् । सुख्खाग्रस्त क्षेत्र हलेसीमा खानेपानी अभावका कारण बुढापाका तथा अपाङ्गता भएका घर परिवारमा सबैभन्दा बढी समस्या हुने गरेको छ।

नगरपालिकामा सञ्चालित सबै खानेपानी आयोजनालाई एकीकृत गरेर सहजरूपमा उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजनासहित ‘खानेपानी बोर्ड’ गठन गर्ने तयारी गरिएको नगरप्रमुख राईले जानकारी दिए।

अधिकांश खानेपानी आयोजना पम्पिङ प्रविधिको भएकाले विद्युत महशुलको भार स्थानीय उपभोक्तामा पर्ने हुँदा नगरपालिकाले महशुल तिर्नेगरी खानेपानी बोर्ड गठन गरेर सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।रासस

प्रकाशित समय : २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु