global ime bank Long Banner Ad

गृहपृष्ठ अन्नपूर्ण आरोहणको ७६ वर्ष : नेपालको पर्वतारोहण इतिहासको गौरवपूर्ण दिन

अन्नपूर्ण आरोहणको ७६ वर्ष : नेपालको पर्वतारोहण इतिहासको गौरवपूर्ण दिन

अन्नपूर्ण आरोहणको ७६ वर्ष : नेपालको पर्वतारोहण इतिहासको गौरवपूर्ण दिन

म्याग्दी। अन्नपूर्ण प्रथम हिमालको पहिलो सफल आरोहण भएको ७६ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा अवस्थित ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण भएको आज ७६ वर्ष पुगेको हो। यस हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ।

आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये पहिलोपटक मानव पाइला पुगेको शिखर भएकाले अन्नपूर्णलाई ‘जेठो हिमाल’ पनि भनिन्छ। सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लाचेनालको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको थियो। अन्नपूर्ण आरोहण भएको तीन वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार नेपालको पर्यटन क्षेत्रको विकास, पर्वतारोहणको सुरुआत तथा नेपाली हिमाललाई विश्वभर परिचित गराएको ऐतिहासिक दिनको स्मरणमा आज विभिन्न कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाइँदै छ।

यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुक क्षेत्रतर्फको आधार शिविर मार्गमा दौड प्रतियोगिता आयोजना गरेको छ। साथै, नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा पनि अन्नपूर्ण आरोहण दिवस मनाइएको छ।

पर्यटन विभागका अनुसार गत वर्षसम्म ५३६ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्। यस वर्षको वसन्तयाममा चार समूहका २७ जना आरोहीले आरोहण अनुमति लिएका थिए। अनुमति लिएकामध्ये कति जनाले सफल आरोहण गरे भन्ने विवरण अद्यावधिक भइरहेको विभागले जनाएको छ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार आधार शिविरदेखि नारच्याङसम्मको ३६ किलोमिटर दूरीमा दौड प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह आयोजना गरी दिवसको समापन गरिनेछ।

खुला दौड प्रतियोगितामा २० जना सहभागी छन्। प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ, उपविजेताले ६० हजार रुपैयाँ, तेस्रो स्थान हासिल गर्नेले ३५ हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने तीन–तीन जनाले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो। दौड प्रतियोगितापछि नारच्याङमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित अन्नपूर्ण आरोहण दिवसको समापन गरिनेछ।

प्रकाशित समय : ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु