गृहपृष्ठ पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई ‘राष्ट्रिय रेबिज रिफरल प्रयोगशाला’को जिम्मेवारी
पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई ‘राष्ट्रिय रेबिज रिफरल प्रयोगशाला’को जिम्मेवारी
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई राष्ट्रियस्तरमा रेबिज रोगको अनुसन्धान तथा निदानात्मक गतिविधिहरू सञ्चालन गर्नेगरी ‘राष्ट्रिय रेबिज रिफरल ९प्रेषित०प्रयोगशाला’ को जिम्मेवारी प्रदान गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस प्रयोगशालालाई देशभरिबाटै पशुहरूको रेबिज रोग निदानका लागि शङ्कास्पद नमूनाहरू प्राप्त गरी परीक्षण गर्ने तथा यससम्बन्धी अनुसन्धान र अध्ययन गर्ने विशेष जिम्मेवारी प्रदान गरेको हो ।
यसअघि सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाहरूलाई मात्र आफ्नो कार्यक्षेत्र बनाई पशुपन्छी तथा पशुबाट मानिसमा सर्ने रेबिजलगायतको (जुनोटिक) रोगहरूको अन्वेषण र निदान गर्दै आएको यस प्रयोगशालाको भूमिका अब देशव्यापी बनेको छ । यो नयाँ जिम्मेवारीसँगै अब देशभरिबाटै पशुहरूमा लाग्ने घातक रेबिज रोगको पहिचानका लागि शङ्कास्पद नमूनाहरू सङ्कलन गरी प्रयोगशालामै वैज्ञानिक विधिबाट परीक्षण गरिनेछ ।
प्रयोगशालामा पिसिआर र फ्याट विधिबाट रोगको द्रुत रूपमा परीक्षण गर्नका लागि अत्याधुनिक उपकरण तथा आवश्यक जनशक्तिको क्षमता विकासको कार्य भइसकेको प्रयोगशालाका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले बताए। उनका अनुसार प्रयोगशालाले रेबिज रोग अन्वेषण तथा निदानका लागि चौबीसैँ घण्टा आकस्मिक सेवा दिँदै आएको छ ।
“गत वर्ष नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ०को प्राविधिक तथा संरचनागत सहयोगमा प्रयोगशालालाई राष्ट्रियस्तरको रिफरल प्रयोगशाला बनाउन आवश्यक पर्ने भौतिक पूर्वाधार र संरचनागत सुधारका कार्यहरू सम्पन्न गरिएको छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भन, “जसले यसको प्राविधिक तथा परीक्षण क्षमतालाई निकै उच्च बनाएको छ ।”
प्रयोगशालालाई आगामी दिनमा अन्तरराष्ट्रियस्तरको बनाउने र ‘एक स्वास्थ्य’को अवधारणाअनुसार भविष्यमा मानिसमा समेत रेबिज रोग भए÷नभएको परीक्षण सेवा सञ्चालन गर्ने दीर्घकालीन सोच बनाइएको उहाँले जानकारी दिए ।
यस प्रयोगशालाले सन् २०२० मा कोभिड–१९ सङ्क्रमण फैलिएसँगै आफ्नो जनशक्ति र प्रविधिको उपयोग गरी सुदूरपश्चिम प्रदेशमा मानिसको नमूनाको कोभिड परीक्षण पिसिआर विधिबाट गरेर जनस्वास्थ्य सङ्कटको घडीमा महत्वपूर्ण योगदान पु¥याएको थियो ।
हालका दिनहरूमा यस प्रयोगशालाले रेबिज रोग नियन्त्रणका लागि राष्ट्रियस्तरमै उदाहरणीय काम गर्दै आएको छ । नेपाललगायत विश्व पशु स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा रेबिज सङ्क्रमित कुकुरको टोकाइबाट हुने मानिसको मृत्युलाई शून्यमा झार्ने जुन विश्वव्यापी लक्ष्य राखेका छन् । सो लक्ष्य हासिल गर्नमा यस प्रयोगशालाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास वरिष्ठ पशु चिकित्सक जोशीले व्यक्त गरे ।
रेबिजको निदानका लागि मृत पशुको मष्तिष्कको नमूना सङ्कलन गर्नु आफैँमा अत्यन्तै कठिन, संवेदनशील र जोखिमपूर्ण कार्य मानिन्छ । नेपालका धेरै प्राविधिक जनशक्ति यस परिष्कृत र जोखिमपूर्ण प्रक्रियाको बारेमा प्रर्याप्त रूपमा सूचित तथा प्रशिक्षित नभएका कारण प्रयोगशालाले नमूना स¬ङ्कलन कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन ‘भर्चुअलअर्थात् अनलाइन माध्यमबाट प्रत्यक्ष सहायता सेवा’ को समेत सुरुआत गरेको छ ।
यस सेवाको माध्यमबाट अब देशभरिका पशु स्वास्थ्य प्राविधिक तथा सरोकारवालाहरूले इन्टरनेटमार्फत प्रत्यक्ष प्राविधिक मार्गदर्शन प्राप्त गरी सुरक्षित रूपमा नमूना सङ्कलन गरेर प्रयोगशालामा पठाउन सक्नेछन् ।
वरिष्ठ पशु चिकित्सक जोशीका अनुसार रेबिज परीक्षणका लागि ‘फ्याट’ प्रविधिलाई विश्वमै भरपर्दो र सर्वोत्तम (गोल्ड स्ट्यान्डर्ड टेस्ट) मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि रेबिज परीक्षणका लागि यसै विधिलाई मान्यता दिएकाले सोही प्रविधि र पिसिआर दुवै माध्यमबाट रेबिज रोगको निदान र परामर्श सेवालाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिएको उनले बताए ।
प्रकाशित समय : ०९:११ बजे



















