गृहपृष्ठ ऊर्जा मन्त्रालयमा गुनासो सुनुवाइलाई प्रमुख प्राथमिकता
ऊर्जा मन्त्रालयमा गुनासो सुनुवाइलाई प्रमुख प्राथमिकता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई मन्त्रालयको प्राथमिक कार्यसूचीमा राखेका छन् ।
उनको निर्देशनपछि मातहतका निकायलाई सेवा प्रवाहमा थप जिम्मेवार बनाउँदै गुनासो व्यवस्थापन प्रणालीलाई तीव्र, प्रभावकारी र परिणाममुखी बनाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विद्युत् सेवासम्बन्धी हटलाइन नम्बर ११५१ लाई २४सै घण्टा सञ्चालनमा राख्दै सेवाग्राहीका समस्या तत्काल सम्बोधन गर्ने संयन्त्र सुदृढ गरिएको छ । मन्त्रालयका अनुसार जेठ महिनाको पहिलो सातामात्र उक्त हटलाइनमार्फत प्राप्त एक हजार एक ८३ वटा गुनासोको शतप्रतिशत फछ्र्योट गरिएको छ । प्राप्त गुनासामध्ये भूमिगत केबलसम्बन्धी ७५, नो लाइटका ११६, खम्बा नपाएको १९, ट्रान्सफर्मरसम्बन्धी ६, मिटर नपाएको पाँच तथा इभी चार्जिङसम्बन्धी तीन वटा समस्या प्रमुख रहेका छन् ।
मन्त्रालयले संसद्को शून्य समयमा उठाइने प्रश्न, संसद्मा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रसँग सम्बन्धित माग, प्रश्न र गुनासोलाई तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाएको जनाएको छ । मन्त्रालयका अनुसार चैत १५ देखि ३० गतेसम्म फोनमार्फत चार हजार २४८, ह्वाट्स एपमार्फत १४, इमेलमार्फत दुई र हेलो सरकारमार्फत पाँच गरी कुल चार हजार २६९ गुनासा प्राप्त भएका थिए ।
त्यस्तै, वैशाख महिनाभर फोनमार्फत ६ हजार २६, ह्वाट्सएपबाट ९२ र इमेलमार्फत १० वटा गुनासो दर्ता भएका थिए । मन्त्री श्रेष्ठले कार्यभार सम्हालेयता कुल ११ हजार ५७५ गुनासा प्राप्त भएको मन्त्रालयले जनाएको छ । लिखित निवेदन तथा सार्वजनिक सञ्चारमाध्यममा आएका विषयलाई सचिवालयले निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाइएको छ ।
प्रकाशित समय : १४:२४ बजे



















