गृहपृष्ठ स्वर्ण जयन्ती मनाउने तयारी गरेको बहिरा बालमाध्यमिक विद्यालयलाई शिक्षण सामग्रीको अभाव
स्वर्ण जयन्ती मनाउने तयारी गरेको बहिरा बालमाध्यमिक विद्यालयलाई शिक्षण सामग्रीको अभाव
भैरहवा। श्रवण शक्ति कमजोर तथा कान नसुन्ने बालबालिकालाई शिक्षा दिने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना गरिएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउँदै छ ।
विशेष शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको विद्यालय अहिले लुम्बिनी प्रदेशकै एकमात्र यस्तो विद्यालयका रूपमा परिचित छ ।
विसं २०३२ सालमा तत्कालीन सिद्धार्थनगर नगरपालिका–२ मा स्थापना भएको विद्यालयमा हाल पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयमा नेपालका ३६ जिल्ला र भारतका विभिन्न स्थानबाट आएका गरी २४३ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये १३५ विद्यार्थी छात्रावासमा बस्दै आएका छन् ।
विद्यालयका प्राचार्य भीमबहादुर थापाले सीमित स्रोतसाधनका बीच पनि विद्यालयले विशेष आवश्यकता भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको जानाकारी दिए। उनका अनुसार, विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
विद्यालयले औपचारिक शिक्षासँगै सिलाइकटाइलगायतका सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको छ । विद्यार्थीको आवतजावत सहज बनाउन दुईवटा बसमार्फत यातायात सुविधा उपलब्ध गराइएको छ ।
प्राचार्य थापाले खेलमैदान, आधुनिक विज्ञान प्रयोगशाला, छात्रावास विस्तार र विद्यार्थीमैत्री शिक्षण सामग्रीको अभाव रहेको उल्लेख गर्दै तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
पाँच दशक पूरा गरेको विद्यालयले विशेष शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई स्थानीयवासीले प्रशंसनीय उपलब्धिका रूपमा लिएका छन् । रासस
प्रकाशित समय : १०:१३ बजे




















