global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान

वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान

वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान गरेको छ । अँध्यारोका कारण राति वन्यजन्तुको जोखिम बढी हुने क्षेत्रहरूमा सौर्यबत्ती जडान गरिएसँगै सुरक्षा तथा सहजता दुवैमा सुधार आएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा प्रदेश सरकारको विशेष अनुदानअन्तर्गत ३५ लाख बजेटमा यो कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार १२ वटै वडामा वन्यजन्तुको अत्यधिक जोखिम रहेका ३० स्थानको पहिचान गरी सौर्यबत्ती जडानको कार्य गरिएको छ ।

वडा नं १ मा तीन, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा तीन, वडा नं ६ मा चार र वडा नं ७ मा तीन वटा सौर्यबत्ती जडान गरिएका छन् । त्यसैगरी वडा नं ८ मा तीन, वडा नं ९ मा दुई, वडा नं १० मा एक, वडा नं ११ मा दुई र वडा नं १२ मा तीन वटा सौर्यबत्ती जडानको कार्य सम्पन्न गरिएको छ ।

सौर्यबत्तीमा सेन्सर प्रणाली जडान गरिएको छ । सेन्सरयुक्त सौर्यबत्ती साँझ हुँदै गर्दा स्वतः बल्ने र बिहान उज्यालो भएपछि आफैँ निभ्ने सुविधा प्रदान गर्छ । यसले विद्युत् खपत नगरी वातावरणमैत्री रूपमा प्रकाश उपलब्ध गराउने भएकाले दिगो र किफायती उपायका रूपमा समेत लिइएको छ ।

नगरपालिकाको ऊर्जा समितिका संयोजक दानबहादुर ऐरले वन्यजन्तु प्रभावित क्षेत्रमा सौर्यबत्ती जडान गर्नुको मुख्य उद्देश्य स्थानीय बासिन्दाको सुरक्षामा प्रमुख रहेको बताए । “रातिको समयमा अँध्यारोका कारण हात्ती, बाघ, चितुवाजस्ता वन्यजन्तु बस्ती नजिक आउने जोखिम उच्च हुन्छ”, उनले भने, “सौर्यबत्तीको उज्यालोले वन्यजन्तुलाई बस्ती नजिक आउन निरुत्साहित गर्ने र बासिन्दालाई सतर्क रहन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

सौर्यबत्ती जडानपछि राति हिँडडुल गर्न सहज भएको स्थानिय मनोज चौधरीले बताए। पहिले अँध्यारोका कारण साँझपख घरबाहिर निस्कनसमेत डर लाग्ने गरेकोमा अहिले उज्यालोका कारण जोखिम केही हदसम्म कम भएको उनको भनाइ रहेको छ । खेतबारी हेर्न, पशुचौपाया जोगाउन तथा आपत्कालीन अवस्थामा आवतजावत गर्नसमेत सौयबत्ती जडानपछि सहज भएको उनले उल्लेख गरे ।

सौर्यबत्ती जडानको कार्यले बस्ती आसपास उज्यालो बढेसँगै चोरी तथा अन्य असामाजिक गतिविधिमा पनि कमी आउने अपेक्षा गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा वन्यजन्तु प्रवेशको समस्या विगतदेखि नै रहँदै आएको छ । यस्तो अवस्थामा सौर्यबत्ती जडानजस्ता प्रविधिमैत्री उपायहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु