गृहपृष्ठ महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि
महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि
खोटाङ । खोटेहाङ गाउँपालिकाले आयोजना गरेको ‘आठौँ गाउँपालिका अध्यक्ष कप–२०८३’ अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेले जितेको छ ।
गाउँपालिकाको नवौँ वार्षिक उत्सवको अवसर पारेर सिम्पानी बजारमा आयोजना गरिएको महिलारपुरुष गाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ इन्द्रेणीपोखरीलाई ३–१ ले हराउँदै लिकुवापोखरी र पुरुषतर्फ वाप्लुखालाई ३–१ ले नै हराउँदै सावाकटहरेले उपाधि जितेको हो ।
गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताका उपाधि विजेता लिकुवापोखरी र सावाकटहरेले नगद ८१/८१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडा नं २ वाप्लुखाका वडाध्यक्ष पारस राईले जानकारी दिए। उपविजेता इन्द्रेणीपोखरी र वाप्लुखाले नगद ६१/६१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
चार दिनसम्म सञ्चालन भएको आठौँ गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगितामा महिलातर्फ सिम्पानी र वाप्लुखा तथा पुरुषतर्फ सिम्पानी र लिच्कीराम्चे सेमिफाइनलिष्ट बनेका छन् । प्रतियोगिताका सेमिफाइनलिष्ट चारवटै टोलीलाई नगद ३१र३१ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
आठौँ संस्करणको भलिबल प्रतियोगितामा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीमा लिकुवापोखरीकी आस्था राई, उत्कृष्ट स्पाईकरण् इन्द्रेणीपोखरीकी एनिशा राई, उत्कृष्ट लिफ्टर सिम्पानीकी तृष्णा राई घोषित भएका छन । यस्तै, पुरुषतर्फको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीमा सावाकटहरे जोसेप राई, उत्कृष्ट स्पाइकरमा लिकुवापोखरीका विशाल खड्का तथा उत्कृष्ट लिफ्टरमा सावाकटहरेका लोकराज खड्का घोषित भएका छन् ।
प्रतियोगिता अवधिभरका अनुशासित टोलीमा महिलातर्फ सिम्पानी तथा पुरुषतर्फ लिच्कीराम्चे घोषित भएको छ । विद्यागत पुरस्कार विजेता खेलाडीले नगद तीन/तीन हजारको साथमा मेडल र प्रमाणपत्र तथा अनुशासित टोलीलाई नगद पाँच/पाँच हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको खोटेहाङ गाउँपालिकाका सूचना अधिकारी रोशन पौडेलले जानकारी दिए ।
यही वैशाख–१२ गतेदेखि सुरु भएको अध्यक्ष कप भलिबल प्रतियोगिताका विजेता खेलाडीहरूलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले संयुक्तरूपमा पुस्कार वितरण गरेका छन । आठौँ संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगितामा महिलातर्फ आठ तथा पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।
खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष फरक–फरक वडामा आयोजना गरिँदै आएको भलिबल प्रतियोगितामा गत वर्षको उपाधिसमेत लिकुवापोखरी र सावाकटहरेले नै जितेको थियो । महिलारपुरुष भलिबल प्रतियोगितासँगै हरेक दिन विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनसहित गाउँपालिकाको नवौँ वार्षिक उत्सव चार दिनसम्म मनाइएको हो ।
प्रकाशित समय : १८:०४ बजे




















