गृहपृष्ठ कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन
कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को केन्द्रीय कार्यालयमा अध्यक्षको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेकी छिन् ।
मंगलबार राति पदभार ग्रहणपछि मन्त्री चौधरीले कृषि क्षेत्रमा नार्कले पु¥याएको योगदानको प्रशंसा गर्दै बदलिँदो राष्ट्रिय आवश्यकताअनुसार अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले कृषि अनुसन्धान मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नार्कलाई राष्ट्रिय ‘थिंक ट्यांक’ तथा प्राविधिक सहयोगको अग्रणी संस्थाका रूपमा अघि बढाउनुपर्ने बताइन् ।
चौधरीले कृषि अनुसन्धानलाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताइन् ।
मन्त्री चौधरीले नेपालमा कृषि क्षेत्रको अवस्था अपेक्षाअनुसार सन्तोषजनक नभएको उल्लेख गर्दै किसान पेशालाई सम्मानित र मर्यादित बनाउन अनुसन्धानमुखी कार्य आवश्यक रहेको बताइन् । ‘हामीमध्ये धेरै किसानका छोराछोरी हौं, तर आज किसानको सन्तान भएकोमा गर्व गर्न सक्ने अवस्था छैन,’ उनले भनिन, ‘यस अवस्थालाई बदल्ने जिम्मेवारी नार्कमाथि छ ।’
उनले सरकारले कृषि क्षेत्रमा सुधारका लागि विभिन्न योजना अघि सारे पनि अनुसन्धानलाई प्राथमिकतामा नराखी कार्यान्वयन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिन् । अबको नीति भने अनुसन्धानलाई केन्द्रमा राखेर अघि बढ्ने रहेको उनको भनाइ थियो । मन्त्री चौधरीले अनुसन्धानलाई प्रयोगशालामा सीमित नराखी किसानको खेतमै विस्तार गर्नुपर्नेमा जोड दिँदै ‘किसानको खेतलाई नै ल्याब बनाउनु पर्छ’ भन्ने धारणा राािखन् । साथै, विश्वविद्यालयहरूसँग सहकार्य गरी मानव स्रोतको उपयोग गर्नुपर्ने र अनुसन्धानमा समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याइन् ।
उनले कृषि क्षेत्रमा जनचेतनाको कमी प्रमुख समस्याका रूपमा रहेको उल्लेख गर्दै मलको प्रयोगदेखि उत्पादन व्यवस्थापनसम्म किसानलाई प्रत्यक्ष रूपमा जानकारी पु¥याउने संयन्त्र विकास गर्न निर्देशन दिइन् । रासायनिक मलको अभावलगायत समस्याको दीर्घकालीन समाधान खोज्न अनुसन्धानलाई सुदृढ बनाउनुपर्नेमा पनि उनको जोड थियो ।
प्रकाशित समय : ०८:०८ बजे




















