global ime bank Long Banner Ad

गृहपृष्ठ चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड बागलुङ कालिकामा लामबद्ध दर्शनाथी ढोरपाटन (बागलुङ), १० चैतः बागलुङ कालिका मन्दिरमा मङ्गलबार पूजाअर्चना गर्न लामबद्ध दर्शनार्थी । आज बिहानैदेखि मन्दिरमा दर्शनार्थी घुइँचो लागेको छ । यहाँ आजदेखि चैत्राष्टमी मेला सुरु भएको छ । तस्बिरः डम्मर बुढामगर÷रासस

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमश मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।  मङ्गलबार चैते दसैँ मेला पनि सुरु भएको छ ।

कालिका मन्दिरमा वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्त आउने गरेको र यसपटक भक्तजनको सङ्ख्या बढी देखिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । शुक्रबारदेखि नवदुर्गा सुरु भएको र त्यस यत्रा नवमीसम्मै मन्दिरमा पूजा आजाका लागि आउने गरिएको छ । चैते दसैँमा अष्टमीलाई सबैभन्दा बढी उत्तम मानिन्छ । चैते दसैँको मुख्य दिन चैत १२ गते बिहीबार परेको छ ।

तीन सय वर्षभन्दा पहिलेदेखि मन्दिर परिसरमा चैते दसैँको अवसरमा मेला लाग्दै आएको छ । यस मन्दिरमा गुठीले व्यवस्थापन गरेसँगै व्यापारिक स्टल, रमाइलो मेला लगायतका संरचना निर्माण गरेर मङ्गलबारबाट मेला आयोजना गरेको हो ।

देशभरबाट भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम जारी छ । मन्दिर परिसरमा लाग्ने मेलालाई विशेष पर्वका रूपमा लिने गरिन्छ । चैते दसैँको प्रतिपदादेखि राम नवमीसम्म करिब १० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस अवसरमा विभिन्न गाउँ तथा जिल्लाबाट आउने भक्तजनका लागि मेला, स्टल र आवासको व्यवस्था मिलाइएको छ ।

मेलाका अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा छेलो प्रतियोगिता आयोजना गरिएको छ । मेलामा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ । मेलामा गाउँबाट किसानहरूले वर्षभरि तयार पारेका काठ, ठेका, बाँसुरी र  बाँस र निगालोका सामग्री बिक्रीका लागि ल्याउने गरेका छन् ।

मन्दिरमा विसं १५९१ देखि यस मन्दिरमा पूजा हुँदै आएको छ । किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गराएको विश्वास गरिन्छ ।

प्रकाशित समय : ०६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु