global ime bank Long Banner Ad

गृहपृष्ठ चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत, मुक्तिनाथ केन्द्रमा चहलपहल

चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत, मुक्तिनाथ केन्द्रमा चहलपहल

चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत, मुक्तिनाथ केन्द्रमा चहलपहल

मुस्ताङ । हिमाली मौसम अनुकूल बन्दै जाँदा मुस्ताङको पर्यटन क्षेत्र पुनः चलायमान बन्न थालेको छ । विशेषगरी प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा तीर्थयात्री र घुम्न आउने पर्यटकको सङख्या बढ्न थालेपछि समग्र हिमाली पर्यटनले नयाँ गति लिन थालेको हो ।

मुक्तिनाथ विकास समितिका अनुसार हाल दैनिक चार हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक मन्दिर पुगिरहेका छन् । पुस–माघको चिसोका कारण सुस्ताएको आगमन फागुन लागेसँगै पुनः बढेको छ, जसले धार्मिक पर्यटनको सिजन सुरु भएको संकेत दिएको छ ।

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बी दुवैका लागि पवित्र तीर्थ हो । तर यहाँ आउने पर्यटक केवल दर्शनमै सीमित छैनन् । हिमालको काखमा रहेको शान्त वातावरण, १०८ धारा, प्राकृतिक दृश्य र हिमाली संस्कृति हेर्न आउने पर्यटकको संख्या पनि उल्लेखनीय रूपमा बढ्दो छ ।

पर्यटकहरू मुक्तिनाथसँगै आसपासका हिमाली गन्तव्यतर्फ पनि आकर्षित भइरहेका छन् । विशेषगरी जोमसोम क्षेत्रको पदयात्रा, कागबेनी भ्रमण र कालीगण्डकी उपत्यकाको दृश्यावलोकन पर्यटकको रोजाइमा पर्न थालेको छ । यसले मुस्ताङलाई बहुआयामिक पर्यटन गन्तव्यका रूपमा स्थापित गरिरहेको छ ।

पर्यटक आगमन बढेसँगै होटल, लज, रेस्टुरेन्ट, जीप सेवा, घोडा सेवा र गाइड व्यवसाय सक्रिय हुन थालेका छन् । स्थानीय व्यवसायीहरूका अनुसार फागुन सुरु भएसँगै बुकिङ बढ्न थालेको छ, जसले मुस्ताङको पर्यटन अर्थतन्त्र पुनः उठ्न थालेको संकेत दिएको छ ।

हिउँ घट्दै जानु, आकाश सफा हुनु र सडक तथा हवाई यातायात सहज बन्नुले आगामी महिनामा पर्यटक सङख्या अझ बढ्ने अनुमान गरिएको छ । विशेषगरी आन्तरिक पर्यटकसँगै भारतीय तीर्थयात्रीहरूको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।

पर्यटन बढ्नु सकारात्मक संकेत भए पनि हिमाली क्षेत्रको नाजुक वातावरण जोगाउन सरसफाइ, फोहोर व्यवस्थापन र सेवा गुणस्तरमा थप ध्यान दिनुपर्ने देखिएको छ ।

योजनाबद्ध पूर्वाधार विकास गर्न सके मुस्ताङलाई वर्षैभरि आकर्षक धार्मिक तथा हिमाली पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना बलियो छ ।

प्रकाशित समय : १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु